सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धुवाँ उडाउने ५० प्रतिशत, फलफुल खाने १ प्रतिशत

सामान्यतया मद्यपान तथा धुम्रपान पुरुषहरुले सेवन गर्छन भन्ने नेपाली समाजको बुझाई छ । तर, पछिल्लो समय धुम्रपान अर्थात चुरोटको धुवाँ उडाउने महिलाको संख्या पनि नेपालमा बढ्दै गएको छ ।

गाउँघरमा सुर्ती सेवन गर्ने महिलाहरु देख्दै आएको भएपनि पछिल्लो समय नयाँ युवापुस्ता आधुनिकताको नाममा सहरका कफीसप र क्याफेहरुमा हुक्का र चुरोटको धुँवा उडाइरहेको भेटिनु अब कुनै नौलो बिषय रहेन ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा ७ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने गरेको पाइएको छ । जनसंख्याको झण्डै ५० प्रतिशत पुरुषहरुमा धुम्रपानको लत रहेको छ । तीमध्ये झण्डै १७ प्रतिशतले नियमित चुरोट सेवन गर्ने गरेको पाइएको छ ।

स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले भने, ‘हामी चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने कुरा त गर्छौं, तर एउटा तथ्यांक हेर्दा हामी कहाँ फलफूल खानेभन्दा चुरोट खानेकै संख्या बढी देखिएको छ ।’

यसबाहेक, झण्डै ६० प्रतिशतले मद्यपान गर्ने गरेको समेत सचिव उप्रेतीले बताएका छन । उनका अनुसार नेपालमा जम्मा एक प्रतिशत मानिसले मात्रै नियमित फलफुलको सेवन गर्ने गरेको पाइएको छ ।

त्यस्तै, प्रत्येक व्यक्तिले आफ्नो आहारमा दैनिक १२ ग्राम नुन समावेश गर्ने गरेको पाइएको छ । यो अनुपात भनेको शरीरलाई चाहिने नुन भन्दा झण्डै सात ग्राम बढी छ । विज्ञहरुका अनुसार हाम्रो शरीरलाई दैनिक ५ ग्राम नुनको आवश्यकता पर्छ ।

नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या समेत बढेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा गरेको एक अनुसन्धान अनुसार नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या वर्षेनी एक लाख ८६ हजार पुग्ने गरेको छ ।

त्यसमध्ये प्रत्येक पाँचजनाको मृत्युमध्ये तीनजनाको मृत्युको कारण नसर्ने रोग हुने गरेको पाइएको छ । त्यसबाहेक अस्पतालमा भर्ना हुने कुल विरामी मध्ये ६० प्रतिशतमा नसर्ने रोगको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै २५ प्रतिशत युवामा उच्च रक्तचापको समस्या तथा नब्बे प्रतिशत मानिसहरुले उच्च रक्तपाचको औषधी सेवन नगर्ने गरेको पाइएको समेत तंथ्याकमा उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्