सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चीनले अमेरीकालाई भन्यो–‘उत्तर कोरीयालाई धम्की नदेउ’

चीनले उत्तर कोरियालाई धम्की नदिन अमेरिकासँग आग्रह गरेको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले अमेरिकी सरकारसँग यस्तो आग्रह गरेका हुन् । हाल उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लागू गरेको छ । यसले उत्तर कोरिया आफ्ना आणविक र क्षेप्यास्त्र परीक्षणबाट पछि हट्ने अमेरिकी बुझाइ छ ।

अमेरिकाले ल्याएको प्रस्तावमा राष्ट्रसंघले गत साता थुप्रै प्रतिबन्ध लागू गरेको थियो । त्यस प्रतिबन्धमा चीन र रूसले पनि समर्थन गरेका थिए । उत्तरको परीक्षणको उनीहरूले सामान्य विरोध गर्दै आएकोमा चीनको यस्तो कदमबाट प्योङयाङ एकलिएको अनुमान गरिएका थिए ।

आफूले अघि सारेको प्रस्तावमा रूस र चीन पनि सहमत भएको भन्दै अमेरिका र पश्चिमा शक्तिहरू खुसी भएका थिए । चीनले उत्तर कोरियाले परीक्षण नगर्नुपर्ने र अमेरिका एवं दक्षिण कोरियाबीच कोरियाली प्रायद्वीपमा चल्दै आएको संयुक्त सैन्य अभ्यास रोक्न माग गर्दै आएको थियो ।

यसैगरी चीनले कोरियामा स्थापित अमेरिकी उच्च सुरक्षा प्रणाली (थाड) पनि हटाउन भन्दै आएको छ । शुक्रबार चिनियाँ राजदूतले उत्तर कोरियामाथि थप धम्की नदिन अमेरिकालाई आग्रह गरेका थिए । शुक्रबार मात्रै उत्तर कोरियाले जापानमाथि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

राष्ट्रसंघीय नाकाबन्दीको विरोधमा आफूले थप परीक्षण गर्नुपरेको उसले स्पष्ट पारेको थियो । उच्चायुक्त कुईले सञ्चारमाध्यमसँग भने, ‘मलाई लाग्छ, अमेरिकाले यो समस्या सुल्झाउन प्रभावकारी कार्यक्रम गर्नुपर्छ । वार्ता गरेर समस्या समाधानमा जोड दिनुपर्छ, अब धम्की दिने काम बन्द गर्नुपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पश्चिमा शक्तिहरूले चीनले प्योङयाङमाथि दबाब दिनुपर्ने बताउँदै आएका छन् । तत्काल कूटनीतिक र आर्थिक दबाब दिएर प्योङयाङका आणविक र क्षेप्यास्त्र सम्बन्धी काम रोक्न लगाउनुपर्ने उनीहरूको माग छ । सेप्टेम्बरको शुरुवातमा उत्तर कोरियासँग व्यापार गर्ने देशहरूसँग अमेरिकाले व्यापार नगर्ने धम्की दिएका थिए ।

कुईले त्यतिखेर यसको प्रतिवाद गरेका थिए । उनले ‘यस्तो बेतुकको कुरा नगर्न’ अमेरिकालाई चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘चीन र अमेरिकाबीचको व्यापार नोक्सान पुर्याउन वा चीनमाथि प्रतिबन्ध लगाउन खोज्नु व्यर्थ हुनेछ । अधिकांश अमेरिकीले नै अमेरिकाको यस्तो नीतिको समर्थन गर्ने छैनन् ।’

सैन्य शक्तिमा अमेरीका बराबर भएको किमको दाबी

उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य शक्तिमा आफू अमेरिका बराबर भएको बताएका छन् । अब अमेरिकाले ठूला आँखा देखाएर उत्तर कोरियालाई तर्साउने दिन सकिएको उनको कथन छ । उनले संयुक्त राष्ट्रसंघको प्रतिबन्धले आफूलाई नरोक्ने पनि स्पष्ट पारेका छन ।

यस्ता प्रतिबन्धको बेवास्ता गर्दै पारमाणविक हतियार सम्बन्धी कार्यक्रम पूरा गरिछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूहरूमाथि लगाइएका प्रतिबन्धले आफ्नो आणविक लक्ष्य नरोकिने उनको दाबी छ । आफूले वैज्ञानिकहरूलाई अमेरिकालाई जवाफी आक्रमण गर्ने आणविक हतियार बनाउन आदेश दिएको पनि उनले बताएका छन ।

उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी कोरियन सेन्ट्रलले नेता उनको भनाइ उद्धृत गर्दै यस्तो जानकारी दिएको छ । शुक्रबार उसले जापानमाथि क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसकै भोलिपल्ट उनको यस्तो भनाइ आएको छ । उक्त क्षेप्यास्त्र करिब ३ हजार ७ सय किलोमिटर दूरी लक्षित गरी प्रशान्त महासागरमा प्रहार गरिएको थियो ।

उक्त ब्यालिस्टिक क्षेप्यास्त्र जमिनबाट प्रहार गरिएको सबैभन्दा लामो दूरीमा प्रहार गर्न सक्ने उत्तर कोरियाली क्षेप्यास्त्र भएको जानकारी दिइएको छ । उत्तरले यसअघि २९ अगस्तमा मध्यम दूरीको ह्वासाङ–१२ क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको थियो । समाचार एजेन्सीका अनुसार शुक्रबार गरिएको परीक्षणबाट नेता उन निकै सन्तुष्ट छन् ।

राष्ट्रसंघ सुरक्षा परिषद्ले उक्त परीक्षणको निन्दा गरेको छ । उत्तरले गरेको परीक्षणबाट क्षेत्रीय शान्ति एवं सुरक्षा भंग गरेको परिषद्को आरोप छ । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रकै लागि प्योङयाङको कदम गम्भीर चिन्ताको कारण भएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्