सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारत बिरुद्धको खेलमा नेपालको सानदार जित

कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि एसीसी अन्डर १९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १ सय ६६ रनमा अलआउट भएपछि नेपालले जित हात पारेको हो ।

यो नेपालको भारतविरुद्ध क्रिकेट इतिहासकै पहिलो जित हो । सुरुआती विकेटको लागि ६५ रनको साझेदारी पाएको भारतले मध्य क्रममा ब्याटिङ सम्हाल्न नसक्दा हारको सामना गरेको हो । ओपनर हिमांशु रानाले ४० र मनाजोत कालराले ३५ रन जोडेका थिए ।

अभिषेक शर्माले २७ रन जोडेर टोलीलाई जिततर्फ बढाए पनि नेपाली स्पिनरहरु भारतीय ब्याट्सम्यानमाथि हाबी हुँदा अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । कप्तान दीपेन्द्रले ३९ रन खर्चेर ४ विकेट लिए भने पवन सर्राफ र साहब आलमले २/२ तथा सन्दिप लामिछानेले १ विकेट हात पारे । कमलसिंह ऐरीले नेपाललाई सुरुआती सफलता दिलाएका थिए ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन जोडेको थियो । ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको नेपालको लागि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन मात्र जोडेका थिए ।

ओपनर जीतेन्द्र सिंहले ३६ रन जोड्दै दीपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । जीतेन्द्रको प्रस्थानपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मद्दतले ८८ रन जोडेका थिए । उनी पारीको ४९ औं ओभरमा आउट भएका थिए ।

मध्यक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लो क्रमका ब्याट्सम्यानमा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए । भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २/२ विकेट लिए । विवेक तिवारी, मन्दिप सिंह, शिव सिंह र अथर्व ताइदेले पनि १/१ विकेट लिएका थिए ।

यस जितसँगै नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना पनि बढेको छ । नेपालले अब समूहको अन्तिम खेलमा मंगलबार मलेसियाको सामना गर्नेछ । त्यसअघि सोमबार मलेसिया र बंगलादेश भिड्नेछन् । मंगलबार हुने अन्तिम खेलमा बंगलादेश र भारत पनि भिड्नेछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्