सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तिवारी हत्यामा गुण्डाको संलग्नता लुकायो प्रहरीले

हत्या गरिएका दुर्गा तिवारी बायाँ, मनोज पुन दायाँ

पुसको पहिलो साता युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । हत्याको मुख्य योजनाकार मनोज पुन भएको भन्दै प्रहरीले दुई महिनापछि यसै साता ८ जनालाई पक्राउ गरेर सार्वजनिक गर्यो तर, तिवारीको हत्यामा काठमाण्डौका डन पनि संलग्न भएको प्रहरीकै अनुसन्धानबाट देखिएको छ ।

तिवारी हत्याकाण्डमा काठमाडौंको वाफललाई आधार इलाका बनाएर गुण्डागर्दी गर्दै आएका समिरमान बस्नेतको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । तर, प्रहरीले यो विषय सार्वजनिक गरेको छैन । बस्नेतको नाम सार्वजनिक नगरिनु रहस्यमय छ ।

तिवारी हत्या काण्डपछि स्थानिय प्रहरीसँगै काठमाडौंबाट विशेष टोली अनुसन्धानका लागि खटिएको थियो । संयुक्त टोलीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरे पनि घटनामा समिरमान वस्नेतको संलग्नता खुलाइएको छैन । तर, प्रहरी स्रोतका अनुसार समिरमान वस्नेत र मनोज पुनले संयुक्त योजना बनाएर तिवारीको हत्या गराएको भेटिएको हो ।

युवा संघका दुर्गा तिवारीको हत्या प्रयास एक वर्षअघि पनि भएको थियो । त्यो बेलादेखि नै मनोज र समिरमानको कनेक्सन देखिएको छ । प्रहरी स्रोतका अनुसार मनोज र समिरमान भारतमा सँगै बस्दै आएका छन् । दुर्गा तिवारीमाथि ७२ साल असोज ११ गते भएको हत्या प्रयासमा समिर वस्नेतको स्पष्ट संलग्नता देखिएको थियो ।

त्यति बेलाको घटनामा समिरमान बस्नेत प्रहरीको फरार सूचीमा छन् । सो घटनामा प्रहरीले तत्काल ७ जनालाई पक्राउ गरेको थियो । ७ जना पक्राउ परे पनि त्यति बेलाको घटनाको नतृत्व गरेका सालिकराम चापागाइँ भने फरार थिए । उनी तिवारीमाथि आक्रमणको प्रयास गरेर भारतको गोवा पुगेका थिए ।

करिब डेढ महिना भारतबाट लुकेर काठमाडौं आइपुगेका चापागाईँ चापागाउँ सुन्धाराबाट पक्राउ परेका थिए । उनै चापागाइँले अघिल्लो वर्ष तिवारीको हत्या योजना भारतमा बसेका मनोज पुन उनका विश्वासिलो पात्र सोम आले र समिरमान बस्नेतले बनाएको बयान प्रहरीलाई दिएपछि बस्नेतको कनेक्सन खुलेको हो ।

२०७२ सालको घटनामा संलग्न रहेको आरोपमा चापागाइँसहित त्यति बेला पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले हाहतियार, लागुऔषध, ज्यान मार्ने उद्योगमा मुद्दा चलायो । त्यही केशमा समिरमान बस्नेत समेत प्रहरीको फरार सूचीमा छन् ।

प्रहरी स्रोत भन्छ–‘२०७२ सालको घटनामा समिर बस्नेतको संलग्नता खुलेपछि प्रहरीले अरु ८ सहित बस्नेतलाई पनि त्यही मुद्दामा फरार सूचीमा राखेको छ । उतिबेलै मनोज पुनसँग योजना बनाउन सामेल भएका बस्नेत अहिले पुनसँगै लुकिरहेको हामीलाई सूचना छ ।’

घैंटे मारिएपछि समिरमान र मनोजकोे भेट
२०७२ साल भदौ २ गते काठमाडौंको गल्कोपाखामा कुमार घैंटे ‘प्रहरी इन्काउन्टर’मा मारिए । घैंटेकै समूहमा रहेका समिरमान बस्नेत घैंटे मारिए लगत्तै भागेर भारतको गोवा पुगे । त्यहीँ मनोज पुनसँग बस्नेतको भेट भएको प्रहरी स्रोतले जनाएको छ ।

गुण्डागर्दीको दुनियामा प्रहरी इन्काउन्टरमै मारिएका दिनेश अधिकारी चरी एकातिर समिर र कुमार घैंटे अर्कोतिर थिए । चरीपछि घैंटे पनि प्रहरी इन्काउण्टरमा मारिएपछि समिर बस्नेतमाथि प्रहरीले निगरानी बढायो । त्यसपछि उनी काठमाडौंमा टिक्न नसकेर भारत छिरे ।

तिवारी हत्याकाण्डको अनुसन्धानमा संलग्न अधिकृतका अनुसार मनोज पुनसँग भेटेपछि समिर बस्नेतले काठमाडौंका उनको ग्याङका केही सदस्यलाई उतै बोलाएको पनि देखिएको थियो । घैंटे मारिएपछि उनीहरु काठमाडौं आउन सक्ने अवस्था देखिएन । त्यसैले समिर र मनोज पुनको उतै केनक्सन सुरु भएको देखिन्छ ।

मनोज पुन ‘अहिले सम्मकै खरतनाक’ अपराधी
तिवारी हत्या काण्डको अनुसन्धानपछि प्रहरीले मनोज पुन ‘अहिले सम्मकै खरतनाक’ अपराधी भएको निष्कर्ष निकालेको छ । तिवारीको हत्या गराउन प्रयोग भएका समूहलाई समेत एक अर्कासँग परिचय नगराउने पुनको शैली अन्डरवल्र्ड डनको शैली भएको प्रहरी अधिकृतहरुको बुझाइ छ ।

एक अनुसन्धान अधिकृतले भने, ‘तिवारीको हत्या भएको दिन प्रयोग भएको मोटरसाइकल चलाउने र मोटरसाइकलको पछाडि बसेर गोली हान्नेले समेत एक अर्कालाई चिन्दैन थिए । दुवैलाई एक अर्कासँग सम्पर्क नगर्न पुनले निर्देशन दिए । मान्छे मारेपछि आफैले फोन गरेर जिम्मा लिएका छन् । यो अन्डरवल्र्डहरुले गर्ने स्टाइल हो ।’

पुन र समिर बस्नेतलाई खोज्न भारत पुगेको प्रहरी टोलीले पुनले भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहसँग सम्बन्ध बढाएको हुन सक्ने आशंका गरेको छ । गोवामा लुकेर बसिरहेका पुन प्रहरीको निगरानीमा रहेको सूचना पाए लगतै दिल्ली पुगेका थिए ।

प्रहरी स्रोतका अनुसार इन्टरनेट नम्बरबाट फोन गरेर फिरौती असुल गर्ने शैली अपनाएका मनोज पुनले छोटा राजन समुहका सदस्यसँग सम्बन्ध बढाएकै कारण सबै धन्दा चलाइरहेको प्रहरीको दाबी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्