१३ बर्षमै बिहे, ३ बच्चासँग हुर्किँदै १९ बर्षकी निमछिकी
आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै÷रमाउँदै दिन कटाउने गर्छिन् । १३ बर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् ।
१९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकिन् ।
नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोसिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो, जो गर्दै आएकी छन् ।
स्याबुन–५, देउराली संखुवासभाका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा निमछिकीको बिहे भएको थियो । उनका श्रीमान अढाई बर्षदेखि खाडी मुलुकमा छन् । पाँच वर्षीया छोरी निमलमु, तीन वर्षीय छोरा तेन्जी र डेढ वर्षीय छोरा लाक्पाको जिम्मेवारी एक्लो निमछिकीको काँधमा छ ।
जीविकाका लागि दिनभर मजदुरी र साँझबिहान घरको कामले व्यस्त बन्ने उनी बालबच्चाको स्याहारसुसारमा समय दिन पाउँदिनन् । यस्तो लाग्छ, ‘भगवान’ले नै तिनका केटाकेटी हुर्काइरहेका छन् ।
तीन बच्चासँग दिन गुजार्दै आएकी उनी आफूलाई श्रीमानले कुनै पनि सहयोग नगरेको बताउँछिन् । ‘बच्चाहरू खाना खान जान्दैनन, आफैंले खुवाउनुपर्छ’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउने उनको इच्छा छ ।
श्रीमान् पनि विदेशमा भएकाले उनका बालबच्चाको भविष्य अन्योलमा छ । हाल उनले ठूली छोरीलाई डेढ घन्टा टाढाको शिव प्राथमिक विद्यालयमा पठाउन सुरु गरेकी छन् ।
जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा र परिवार नियोजन क्षेत्रमा दिँदै आएको कार्यक्रम समेत सहर केन्द्रित हुँदा गाउँगाउँमा निमछिकीजस्ता बालिका आमाको संख्या बढ्दो छ ।
तमाम गैरसरकारी संस्थाहरूले महिला प्रजनन स्वास्थ्यमा गर्दै आएको कार्यक्रमको प्रभावकारिता पनि देखिँदैन । नाबालकैमा आमा हुँदा पाठेघर लगायतको समस्याले मातृमृत्युदर पनि बढ्दो छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्