चुनाव सार्न एमालेले प्रस्ताव गरेको बर्षमानको खुलासा
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न प्रस्ताव ल्याएको दाबी गरेका छन् । नेता पुनले एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चर्यजनक भएको पनि बताएका छन ।
पार्टीको पाँच नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका पुनले पत्रकारहरुसँग एमालेले चुनाव सार्न आग्रह गरेको बताएका हुन् । पुनले भने–‘हामी सरकारमा आउँछौं, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भनेर उहाँहरुले प्रस्ताव ल्याउनुभएको छ ।’
पुनले एमालेको शीर्ष नेतृत्वबाटै यस्तो प्रस्ताव आएको बताएका छन । चुनावको चर्का–चर्का कुरा गर्ने एमालेले भित्री रुपमा स्थानीय तहको चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको विषय भएको पनि पुनले बताएका छन । एमालेले सरकारमा आएर कात्तिकमा चुनाव गर्न प्रस्ताव गरे पनि अहिलेको सरकारमा रहेकै गठबन्धनले तीनओटै तहको निर्वाचन गर्ने पुनले बताएका छन ।
स्थानीय तहको चुनावपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने माओवादी नेता पुनले बताएका छन । यसैबीच मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने पुनले दाबी गरेका छन ।
संविधान संशोधन हुनुहुन्न भन्ने एमाले र निर्वाचन हुन दिँदैनौँ भन्ने मधेसी मोर्चालाई सहमतिमा ल्याएर सरकारले सबै दलको सहमतिमै चुनाव गर्न लागेको पुनले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्