गणेश लामा काभ्रेतिर, मिलन चक्रे गुप्तवास !
करिब ४ वर्षअघि काभ्रेको पाँचखालबाट ३६ किलो सुन लुट्ने गिरोहका नाइके समेत रहेका ‘बाला’ उपनामले चिनिले योगेन्द्र तामाङसहित १४ गुन्डालाई नियन्त्रणमा लिएपछि वर्षौदेखि गुन्डानाइके भनेर चिनिएका गणेश लामा काठमाडौं छाड्न बाध्य भएका छन् ।
त्यस्तै अर्का गुन्डा नाइके मिलन चक्रे पनि आफ्नो ‘कफी जक्सन’ मा निस्कन छाडेका छन् । पछिल्लो साता महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले उपत्यकामा क्रियाशिल १४ जना गुन्डाहरुलाई नियन्त्रणमा लिएको छ ।
‘बी’ र ‘सी’ ग्रेडका चौध गुन्डालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएसँगै पुराना डन मिलन गुरुङ ‘चक्रे’ ले आफ्नो जक्सन छाडेका छन् । बालुवाटारस्थित कालिका टावर छेउमा उनको ‘कफी जक्सन’ थियो ।
बिहानभरी कालिका टावर नजिकैको एक रेष्टुरेण्टमा विताउने चक्रे मध्यान्ह नयाँ बानेश्वरको इद्रेणी फूडल्याण्ड र साँझ जापनिज एम्बेसी छेउको रेष्टुरेन्टमा हुन्थे । ‘अहिले तीनओटै जक्सनमा चक्रे आउन छाडेका छन’ गुन्डागर्दीलाई नजिकबाट नियकालेका काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘गणेश लामापनि काभ्रेतिर लागिसकेका छन् ।’
पूर्व गृहमन्त्री विजय गच्छदारको आडमा गुन्डागर्दी गर्दै आएको भनिने गणेश लामा काठमाडौं प्रहरी प्रमुखमा एसएसपी छविलाल जोशी र महाशाखामा एसएसपी दिनेश अमात्य आएको करिब एक महिनापछि काभ्रेतिर लागेका थिए । जोशी र अमात्यले हाजिर भएको एक महिनामै चक्रे र लामासहित १६१ गुण्डाहरुको हिटलिस्ट तयार भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
त्यस्तै काभ्रे घर भएका अर्का गुण्डा नाइके दावा लामा पनि राजधानी छाडेर काभ्रेतिर लागेको बताइएको छ । कांग्रेस निकट मानिने दावा स्थानीय चुनावको महोल बनाउन भन्दै त्यतातिर लागेका हुन् ।
महाराजगञ्ज क्षेत्रका अर्का गुण्डा तेजेन्द्र गुरुङ भूमिगत भएका छन् । तरुण दलको राजनीतिमा सक्रिय गुरुङ्ग खेलुकद क्षेत्रमा पनि आवद्ध छन् । प्रहरीले पक्राउ गर्ने डरले उनी लुकेको बताइएको छ ।
प्रहरीको सूचिमा रहेका समिरमानसिंह बस्नेत फरार छन् । केही गुण्डाहरु तटस्थ, सुसुप्त बसेको जानकारी दिँदै एसपी कार्कीले भने, ‘पुरानो मुद्दा नभएकालाई दुःख दिने नियतले कसैलाई पक्राउ गर्दैनौं । तर सबै गुन्डाहरुमाथि निगरानी भने बढाएका छौं ।’
प्रहरीले साता (चैत २२) यता काभ्रेका योगेन्द्र घिसिङसहित १४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चार वर्षअघि तातोपानी भन्सारबाट आएको ३६ किलो तस्करीको सुन लुटपाटमा संलग्न भनिएका घिसिङ कोटेश्वर र बानेश्वर क्षेत्रमा सक्रिय गुन्डा हुन् ।
काभ्रेको पोखरी नारायणस्थान गाविस स्थायी घर भएका लामालाई अपराध महाशाखाका डिएसपी अजय केसीको कमान्डमा खटिएको प्रहरी टोलीले गत बिहीबार लाजिम्पाटबाट पक्राउ गरेको थियो ।
‘बाला’ सँगै दिपक रोकाया, राजेन्द्र बम, कुमार तामाङ, मुन तामाङ, ज्याक गुरुङ, कर्मा घले, कोर्ते गुरुङ, सिसन श्रेष्ठ, सुनिल नगरकोटी, कोले थापामगर, निम लामा, पुनम कार्की र ‘विक्रम’ भन्ने नानीवावु थापा अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।
‘स्थानीय निर्वाचनमा गुण्डाको प्रयोग नहोस, राजनीतिक आडमा गुन्डागर्दी नहोस् भनेर अप्रेशन शुरु गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रद्युम्न कार्कीले भने, ‘फरार गुण्डाहरु पनि चुनावको बेला चलायमान हुने सम्भावना बढी हुन्छ, एक साताको अवधिमा १४ जना पक्राउ परेका छन् ।’
प्रहरीले पछिल्लो समय नियन्त्रणमा लिएका गुण्डाहरुमध्ये दोलखा स्थायी घर भएका कुमार तामाङ ठमेलमा एक व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हुन् । नुवाकोट स्थायी घर भएका मुन तामाङ बानेश्वर क्षेत्रका गुण्डा हुन, उनी यसभन्दा पहिले पनि हात हतियार तथा खरखजाना मुद्दामा जेल परेका थिए ।
नयाँ बजारका ज्याक गुरुङ लामो समय विदेशमा बसे । विदेशबाट फर्केपछि ठमेल क्षेत्रमा हप्ता असुली कार्यमा सक्रिय भएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिएका छन ।
कर्मा घले र कोर्ते गुरुङ ज्याक गुरुङकै ग्याङका सदस्य हुन । कर्मा ठमेलस्थित फायर क्लवका सेयर होल्डर हुन् । यसभन्दा पहिले ९ बर्ष जेल बसेर निस्केका कर्मा र स्वयम्भू क्षेत्रमा सक्रिय कोर्तेलाई गत २४ गते काठमाडौं प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
मिलन गुरुङ ‘चक्रे’ ग्याङको पुरानै सदस्य हुन् सिसन श्रेष्ठ । लामो समय चक्रेको छत्रछाँयामा काम गरेका सिसनले अहिले महाराजगञ्ज क्षेत्रमा आफ्नो छुट्टै ग्याङ बनाएका छन् । प्रहरीले उनलाई एक महिनादेखि ‘सी ग्रेड’को गुण्डाको सूचिमा राखेर निगरानी बढाइरहेको थियो ।
प्रहरी फन्दामा परेका सुनिल नगरकोटी र कोले थापा मगर ठमेल क्षेत्रका गुण्डा हुन् । निम लामा बानेश्वर एरियामा सक्रिय थिए । प्रहरीले नियन्त्रणमा लिएको पुनम कार्की चक्रे ग्याङकै सदस्य हुन् । पछिल्लो एक महिनाको अवधिमा चक्रेसँग लगातार उठबस भएको देखिएपछि कार्कीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आफूलाई ‘विक्रम’ उपनामले चिनाउने नानीवावु थापा कलंकी र थानकोट क्षेत्रका गुन्डा हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्