काठमाण्डौमा भेटियो कडा खालको स्वाईन फ्लू
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले काठमाडौंमा स्वाइन फ्लू भेटिएको पुष्टि गरेको छ । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन सर्बसाधारणसँग आग्रह गरेका छन् ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरेका छन । हाल देखिएको स्वाइन फ्लू अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू हुन सक्ने डा. पुनले बताएका छन ।
करिब तीन हप्ता अघिमात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।
ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लु देखिएको अस्पतालले जनाएको छ । गत फाल्गुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लुको भाइरस भेटिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको केन्द्रिय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्ये करिब २० प्रतिशतमा स्वाइन फ्लूको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ ।
अहिले देखिएको स्वाईन फ्लुका के–के हुन् लक्षण ?
चिकित्सकहरुका अनुसार लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने स्वाइन फ्लूको लक्षण हुनसक्छ । यस्तै बालबालिकामा ज्वरोसँगै वान्ता हुने, पखाला लाग्ने भएमा तत्कालै जाँच गराउनु पर्छ ।
स्वाइन फ्लू सरुवा रोग भएको हुदाँ सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा स्वास्थ्य परिक्षण गराएर यो रोग लाग्नबाट बच्न सकिन्छ ।
यसकारण अहिलेको स्वाईन फ्लूमा सचेत हुनुपर्ने कारण
सन् २००९ मा विश्वमा पहिलो पटक स्वाइन फ्लूको संक्रमण देखा परेको थियो । एच वान एन वान भाइरस सुँगुरबाट मानिसमा सर्ने हुदाँ यसलाई स्वाइन फ्लू भनिएको हो ।
स्वाइन फ्लुका विभिन्न प्रजातीमध्ये अमेरिकाको क्यालिफोर्निया शहरबाट फैलिएको क्यालिफोर्निया स्ट्रेन र मिचिगन शहरबाट फैलिएको मिचिगन स्ट्रेन प्रमुख दुई हुन् । क्यालिफोर्निया स्ट्रेनको तुलनामा मिचिगन स्टे«न कडा प्रकारको स्वाइन फ्लू हो ।
सामान्य मान्छे भन्दा दम, छातीको संक्रमण, मुटुका रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरुमा यसको जोखिम झन बढी भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन ।
नेपालमा क्यालिफोर्निया स्टे«नको भ्याक्सिन उपलब्ध छ तर, मिचिगनको भ्याक्सिन नेपाल मात्र होइन, छिमेकी मुलुक भारतमा पनि छैन । यस्तो अवस्थामा यदि कसैलाई यो स्वाइन फ्लू भएमा मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्छ ।
भारतमा समेत मिचिगन नामक स्वाइन फ्लूबाट ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । सन् २०१६ को अन्त्यतिर देखा परेको यस रोगविरुद्ध खोप (भ्याक्सिन) लगाउन विश्व स्वास्थ्य संगठनले समेत सुझाव दिँदै आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्