सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढिपहिरोको बितण्डा, ३६ जनाको मृत्यु, दर्जन बेपत्ता

अविरल बर्षासंगै आएको बाढीपहिरोका कारण देशका बिभिन्न भागमा गरी आईतबार बिहानसम्म ३६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढिपहिरोमा परी दर्जन बढी हराईरहेका छन ।

गृह मन्त्रालयको तथ्यांक अनुसार शनिवार साँझसम्म पाँचथर–४, सिन्धुली–४, झापामा ४, मोरङ्ग–५, सुनसरी–८, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके–४, मकवानपुर–१ र पाल्पामा १ गरी जम्मा ३६ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी दर्जनौँ घाईते भएका छन । हराईरहेकाहरुको खोजी र बाढीमा फसेकाहरुको उद्दारका लागी नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी करिब १,७०० र नेपाली सेना १,००० गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु फिल्डमा खटाइएका छन् ।

बर्षाका कारण नदी तथा खहरे खोलाको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीका र कपिलबस्तुमा नदी आसपासका क्षेत्र पुर्ण रुपमा डुबानमा परेका छन् । यस्तै बाँके, बर्दिया, दाङसहितका जिल्लामा पनि बाढीले जनजीवन अस्तव्यस्त बनाईदिएको छ ।

भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ । बेपत्ताहरुको खोजी तथा फसेकाहरुको उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ ।

तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोट, भुजिया, चाउचाउ, चामल, दाल, नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ ।

नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ । बिभिन्न राजमार्गहरु अबरुद्ध हुँदा सयौँको संख्यामा यात्रुहरु अलपत्र परेका छन ।

अहिले पनि अधिकांश ठाउँमा पानी परिरहेकाले पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर र धनकुटा, रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा पानीको सतहले खतराको तह पार गर्नसक्ने भएकाले सुरक्षित भएर बस्न आग्रह गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्