सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अस्पताल लाँदै गरेकी गर्भवतीसहित ६ को डुबेर मृत्यु

अविरल बर्षाका कारणड डुबानमा परेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको खबर छ । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । मृत्यु हुनेमा ४ पुरुष र २ महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको बताईएको छ ।

चार दिन देखिको वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालको भन्दा पनि ठूलो यस पटकको बाढीले रौतहटलाई पुर्ण रुपमा जलमग्न बनाएको छ ।

लालबकैया नदीको बहाव उच्चबिन्दुमा पुगेपछि करुनिया र देवाहीसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको छ ।

शनिबार बाँध भत्किएपछि आएको बाढीमा फसेका देवाही वडा नंं ८ का २०० जना भन्दा बढी स्थानीयलाई अँझैसम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरुलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्