रोकिएन बाढीको बितन्डा, देशभर ७० को ज्यान गयो
लगातारको बर्षाका कारण आएको बाढीपहिरो र डुवानमा परी देशका बिभिन्न भागमा गरी ७० जनाको मृत्यु भएको तथ्यांक गृहमन्त्रालयले उपलब्ध गराएको छ । बर्षाका कारण देशभरका २६ ओटा जिल्ला बाढीपहिरोको चपेटामा परेका छन् ।
बाढिपहिरोमा परी हराउनेको संख्या ५० भन्दा बढि भएको गृह मन्त्रालयले जनाएको छ । यो आँकडा आईतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकमा गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका हुन ।
मन्त्रिपरिषद बैठकमार्फत सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई–दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् । करिब ४ सय घर क्षतिग्रस्त छन् ।
सरकारले उद्धार, पुनस्स्थापना तथा खाद्यान्न लगायत राहत वितरणका लागि आज सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय समेत गरेको थियो ।
मन्त्रिपरिषद बैठकले घाइतेको तत्काल निस्शुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । राजधानीलगायत नजिकका सहरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।
बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक–एक महिनाको तलब–सुविधा पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्