सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरी भन्छः बनेपामा ४ को हत्या होईन आत्महत्या

आफ्नै घरमा मृत भेटिएका एकै परिवारका चार जनाको हत्या नभई आत्महत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । शव परीक्षणबाट आत्महत्या भएको देखिएको छ तर विस्तृत विवरणका लागि भने भिसेरा रिपोर्ट नै पर्खनुपर्ने भएको छ ।

शवको परीक्षण लगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गर्न लागिएको र अबको केही दिनमै त्यसको प्रतिवेदन आउने काभ्रेका प्रहरी उपरीक्षक सहदेव थापाले जानकारी दिएका छन ।

भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएका हुन् ? हरेकले कुन समयमा खाए ? एकै पटक खाएको हो वा हैन ? भन्ने विस्तृत विवरण प्राप्त हुनेछ ।

प्रहरी उपरीक्षक थापाले भने, ‘अहिलेसम्मको अनुसन्धानले हत्या भएको देखिँदैन ।’ बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल साउन ६ गते मृत अवस्थामा फेला परेका थिए ।

स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ । मृत फेला परेका बुबाआमा, छोरा र छोरी हुन् ।

शव रहेको कोठाको भित्रबाट ताल्चा लगाइएको र सेल्फस नामक विषादीको शिशी प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान अपराध अनुसन्धान ब्यूरोले गर्दैछ । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्