सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

देश टुक्र्याउनेलाई जनताले भोट दिन्ननः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश टुक्र्याउने पक्षमा बोल्नेलाई जनताले अब भोट नहाल्ने बताएका छन । काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका वाम उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै मंगलबार ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने–‘अव काठमाडौका सबै क्षेत्रमा हामी लिड गर्छौं । देश टुक्रयाउने पक्षमा बोल्नेलाई अव काठमाडौंवासीले भोट हाल्दैनन् र देशलाई एकताबद्ध गर्नुपर्छ भन्नेलाई मत दिन्छन् । देशलाई राम्रो बनाउनेलाई मत हाल्छन । हाल्न हामीले आग्रह गर्नुपर्छ । अव देश बनाउन भोट हाल्ने हो । देश मिलाउन भोट हाल्ने हो ।’

ओलीले अगाडी भने–‘अहिले सरकारले विपक्षीप्रति फाँसिवादी नीति अख्तियार गरेको छ । यसप्रति म खेद ब्यक्त गर्दछु’ उनले देशका बिभिन्न भागमा एमाले र वाम उम्मेद्वारमाथि भएका आक्रमण र विपक्षी दलप्रति सरकारका व्यवहार उल्लेख गर्दै यसो भनेका हुन ।

सरकारले अहिले निर्वाचनलाई निस्पक्ष र शान्तीपूर्ण सम्पन्न गर्ने खालका मात्र काम गर्नुपर्नेमा त्यसबाहिर गएर पहिले गरेका सम्झौता उल्टाउने र नयाँ गर्ने जस्ता कार्य गर्न नसक्ने बताए ।

ओलीले भने–‘सरकारले २३ करोड कार्यकर्तालाई बाँडेको छ । सरकारमा बसेर उहाँहरु ब्रम्हलुट मच्चाइरहनु भएको छ । यो कसलाई पोस्दै हुनुहुन्छ ? यो बाँडेर के हुन्छ ? जनताले अव बुझेका छन ।’

नेपाली कांग्रेसले २०४६ सालपछि दुईपटक बहुमत ल्याएको तर मुलुकलाई सम्हाल्नै नसक्ने ठाउँमा पुर्याएको भन्दै अव देशमा वामहरुको स्थायी सरकार बन्ने र स्थायित्वतर्फ मुलुक अघि बढ्ने बताएका छन ।

वाम तालमेलपछि देशभर पराजित हुने अवस्था आएपछि र वामशक्तिको बिरोधमा केही एजेण्डा नभएपछि अहिले कांग्रेसले अधिनायकवाद आउने भन्दै गलत प्रचार गरिरहेको उल्लेख गर्दै त्यसको जवाफ जनताले दिइरहेको उनले बताएका छन ।

वाम तालमेलले देशभर सकारात्मक प्रभाव पारेको, कार्यकर्ता उत्साहित भएको र आम नागरिकमा स्थायी सरकार पाउने बिश्वास बढेकोले त्यसलाई सानातिना समस्याले नछुने उनले दावी गरे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्