कुवेतमाथी नेपालको सानदार जित, छनौट नजिक
सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
यो जितसँगै नेपाल टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ । नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेलेका थिए । खडकाले १ छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाएका थिए ।
त्यसैगरी शरद भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको योगदान गरेका थिए । रोहितकुमार पौडेलले ६ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १ रन बनाएर आउट भएका थिए ।
कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिएका थिए । नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाएका थिए । त्यसैगरी आदनन् इन्द्रेसले २५ र मोहमद अस्लामले २३ रन बनाएका थिए । ९औं विकेट गुमेपछि कुवेतले १० बलमा २९ रन जोड्न सफल भएको थियो । कप्तान काषिफले ३६ बलमा ४ छक्का र २ चौका गरी ४९ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिएका थिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिएका थिए । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपाललाई टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ । पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्