माथिल्लो तामाकोशीको ९० प्रतिशत काम पुरा
दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको भोलि आइतबार ‘ब्रेक थ्रु’ हुने भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिँदैछ ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ । इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ । खाँडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ ।
सोही कारण ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुर्याउन कठीन भएको छ । अहिले विद्युतगृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन दिनरात काम भइरहेको छ । टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ ।
प्रसारणलाइनका लागि ठड्याउनुपर्ने एक सय ४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् । आगामी असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्ने छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सेयर भने चुनाव लगत्तै निष्कासन गर्ने तयारी छ । त्यसमा दोलखावासीले मात्रै आवेदन दिन पाउनेछन् । श्रेष्ठका अनुसार आयोजनाको लागत ३५ अर्ब ३० करोड रुपैयाँ छ । कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी छ ।
त्यसबाहेक मन्त्रिपरिषदले चैत ०६६ मा उक्त आयोजनाका लागि ११ अर्ब आठ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको थियो । माथिल्लो तामाकोशी राष्ट्रिय गौरवको आयोजना हो । र, पूर्ण नेपाली लगानीमा निर्माणाधीन छ । विनासकारी भूकम्प र भारतको नाकाबन्दीका कारण उक्त आयोजना करिब दुई वर्ष पछाडि धकेलिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्