सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

माओवादी केन्द्रमा साइँलालाई कारबाही गर्न माग

माओवादी केन्द्रका नेता एवम् प्रदेश नं. १ का इञ्चार्ज गोपाल किराँती (साइँला)लाई अनुशासनको कारवाही गर्न १८ जना पोलिटब्युरो सदस्यहरुले पार्टी अध्यक्षसँग माग गरेका छन् ।

आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किराँतीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोधसमेत गरेका छन् । १८ पोलिटब्युरो र एकजना सचिवालय सदस्य गरी १९ जना नेताहरुले प्रचण्डलाई पत्र नै लेखेर किरातीलाई कारवाहीको माग गरेका हुन् ।

पत्रमा लेखिएको छ, ‘क.साइँलाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेकोले उहाँकै नेतृृत्वमा उक्त बैठक बस्नु अनुचित देखिन्छ ।’

पत्रमा थप लेखिएको छ, ‘निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धन विरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुन्छ र हुनुपर्दछ ।’

प्रदेश नम्बर १ का माओवादी संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती विना पोखरेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएपछि असन्तुष्टि चर्किएको थियो । सहिद परिवारलाई बेवास्ता गर्दै पोखरेललाई टिकट दिलाउन किरातीेले भूमिका खेलेको स्थानीय नेताहरुको आरोप छ ।

किरातीलाई कारवाहीको माग गर्दै प्रचण्डललाई लेखिएको पत्रमा सावित्रीकुमार काफ्लेको नाम भने छैन । नामावलीमा सचिवालय सदस्य टंक आङवोहाङको नाम एक नम्बरमा छ ।

यसैगरी, पोलिटव्यूरो सदस्यहरु श्रीप्रसाद जवेगु, हेमराज भण्डारी, पेसल खतिवडा, मुकसामहाङ मेन्याङवो, झलकसिंह दर्लामी, शेरबहादुर बस्नेत, धर्मशिला चापागाईं र हर्क नेम्वाङको पनि नाम पत्रमा छ ।

राजु आचार्य, गोपी अछामी, रामकुमारी चौधरी, बाबुराम गौतम, सुदन किराती, विरेन्द्र शर्मा, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गा चापागाइँ र अरुण सुन्दासको नाम पनि किरातीलाई कारवाहीको माग गर्दैै लेखिएको पत्रमा उल्लेख छ ।

यसैबीच माघ १३ र १४ गते बसेको प्रदेश कार्यालयको बैठकले प्रदेश १ को माओवादी संसदीय दलको नेता र प्रमुख सचेतकमा तीन–तीन जनाको नाम सिफारिस गरेको छ ।

बैठकले दलको नेतामा टंक आङवोहाङ, इन्द्र आङवो र राजकुमार राईलाई सिफारिस गरेको हो । यसैगरी दलको प्रमुख सचेतकमा मोहन कुमार खड्का, कुलप्रसाद साँवा र धिरेन्द्र शर्मालाई सिफारिस गरिएको छ ।

उपसभामुखमा सिता थेवे, सरस्वती पोखरेल, सौभाग्यवती राई र उमीता बराइलीलाई सिफारिस गरिएको छ । दलको उपनेता र सचेतक भने सिफारिस गरिएको छैन । तर सिफारिस गरिएका नाममा पनि किरातीले हेरफेर गरेको आरोप लाग्दै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS