हिँजो देशै रहला नरहला भन्ने अवस्था थियोः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा अब अतिवादलाई कुनै ठाउँ नभएको बताएका छन् । नेपाल नेत्र ज्योति संघको २५ औं केन्द्रीय सभाको बुधबार भरतपुरमा उद्घाटन गर्दै नेता दाहालले उक्त कुरा बताएका हुन् ।
देशै रहने वा नरहने भन्नेसम्मको अवस्था आएका बेलामा संविधान जारी भएका कारण अब मुख्य समस्याहरु पार भएको उनले बताएका छन । ‘हिजोको अवस्था अलि अर्कै–अर्कै थियो । संविधान आउला नआउला भन्ने मात्रै होइन, देशै के होला, कसो होला भन्ने अवस्था थियो । यस्तो बेलामा पनि हामीले संविधान ल्यायौँ ।’
दाहालले अगाडी भने–‘देशले एउटा बाटो समातेको छ । केही असन्तुष्टि नभएका होइनन् तर अब कुनै असन्तुष्टिहरुले नेपालीलाई छुँदैन ।’ उनले असन्तुष्टि मात्रै नभएर नेपालमा अतिवादलाई पनि कुनै ‘ग्राउण्ड’ नभएको बताएका छन ।
अघिल्लो वर्ष निर्वाचनमा बितेका कारण यो वर्ष विकासमा केन्द्रित हुने उनले बताए । दाहालले भने–‘देशमा चुनाव भयो । तीनवटै तहमा सरकार बनेर काम सुरु भएको छ । अब यो नयाँ वर्षदेखि विकासको एक्सीलेरेटर दबाउने हो ।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपालमा थप माहोल बनाउने बताएका छन ।
अध्यक्ष प्रचण्डले अगाडी भने–‘हाम्रो प्रधानमन्त्री भारत जानुभयो । भारतीय प्रधानमन्त्री पनि आउँदै हुनुहुन्छ । उहाँ काठमाडौंसहित जनकपुर र मुक्तिनाथ भ्रमण गर्दै हुनुहुन्छ । यसले एउटा राम्रो माहोल बनाउने छ । फेरि प्रधानमन्त्री ओली चीन जानु हुनेछ । यही वर्ष चीनका राष्ट्रपति नेपाल आउने सम्भावना छ ।’ त्यसैले यो वर्षदेखि देशले विकासको यात्रा सुरु गर्ने उनले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्