डा. उपेन्द्रकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद
उच्च अदालत पाटनले डा. उपेन्द्र देवकोटाको छोरी अपहरणको आरोपमा मुछिएका राजु थापालाई १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्नेे फैसला गरेको छ ।
न्यायाधीशहरु विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको इजलासले २०७१ साल असार ३१ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई केही फेरबदल गरेको हो । जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।
प्रहरी अनुसन्धान अनुसार, थापा अपहरणको मुख्य आरोपित थिए । उनले डा. देवकोटासँग चावी मागी गाडीमा राखेर छोरी मेघाको अपहरण गरेका थिए । उच्च अदालतले अपहरणमा ११ वर्ष र डाँकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो ।
जिल्ला अदालतले डाँकाको आरोपमा थापाले सफाई पाउने ठहर गरेको थियो । जिल्ला अदालतको फैसलापछि आरोपित राजु थापाले कुनै पुनरावेदन गरेका थिएनन् । २०६५ साल साउन १९ गते बिहान ३ बजे डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण भएको थियो ।
खड्का भद्रकालीस्थित गाउँको घरबाट भएको अपहरणमा १६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद र सुनका गहना समेत लुटपाट भएको थियो । एक करोड ३० लाख रुपैयाँ फिरौती बुझाएको ३ दिनपछि अपहरणकारीले मेघालाई गौशालामा ल्याएर छाडेका थिए ।
अपहरणकारीले सुरुमा १० करोडको फिरौती मागी मोलमोलाई गरेकोमा पछि एक करोड ३० लाखमा सम्झौता भएको थियो । उनीहरुले प्रहरीलाई खवर गरेमा छोरी मारिदिने भन्दै पेस्तोल देखाई अपहरण गरेकाले केही समय त्यसको खवर समेत सार्वजनिक भएको थिएन ।
प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा कृष्ण राई, दिल कुमार भन्ने सिद्धार्थ लामा, राजु लामा, हेमन्न भन्ने हेमबहादुर थापामगर र राजु थापाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीले उनीहरुमाथि अपहरण तथा शरीर बन्धक, डाका तथा चोरीको अभियोगमा कारवाहीको माग राखेको थियो ।
प्रहरीले उनीहरुसँग कुल विगो १ करोड ४६ लाख ३२ हजार ३६० रुपैंया मागदावी गरेको थियो । उक्त मुद्दामा राजु थापा बाहेकका अरु आरोपितहरुका हकमा काठमाडौं जिल्ला अदालतले २०६९ साल माघ ६ गते फैसला गर्दै अपहरणको आरोप ठहर गरेको थियो ।
डाकाको आरोपमा कृष्ण राई र सिद्धार्थ लामालाई ६ वर्ष कैद र डाकाको आरोपमा २४ लाख ४८ हजार जरिवाना भएको थियो । अपहरणको आरोपमा समेत सबैलाई ११ वर्ष कैद र एक लाख ७५ हजार जरिवाना भएको थियो ।
उक्त फैसलालाई सर्वोच्च अदालतका न्यायाधीश सुशिला कार्की र जगदिश शर्मा पौडेलको इजलासले २०७३ साल बैशाख १३ गते सदर गरेको थियो । फरार थापाको हकमा मात्रै अदालतले पछि फैसला गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्