अब बंगलादेश–भारत–काठमाण्डौ सिधा बससेवा
बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् ।
नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य लगायतले उनीहरूलाई स्वागत गरेका हुन् ।
बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी छन् । ती बस सोमबार बिहान ८ बजे ढाकाबाट हिँडेका थिए । बस हिँड्नेबित्तिकै ढाकाको जाममा फस्दा आउन ढिला भएको एक नेपाली अधिकारीले बताए । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो ।
पहिलो रात ढाकाको रंगपुरमा वास बसको थियो । दोस्रो रात भारतको सिलगुढीमा बसेको बस तेस्रो रात बुधबार सौराहामा बसेको छ । बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरूप त्रिदेशीय अन्र्तराष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो ।
सम्झौता भएको ३ वर्षपछि रुट परीक्षण सुरु गरिएको छ । ढाकाबाट छुटेका श्यामोली परिवहनका ती बस बिहीबार काठमाडौं आईपुगेका छन । भुटानले अँझै यो सम्झौतामा हस्ताक्षर गरेको छैन । बिबिआइएन सम्झौता लगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने भन्दै स्तरोन्नति गरिरहेको छ ।
‘यो त ट्रायल रन मात्र हो, यसको प्रतिवेदनका आधारमा रुट कायम हुन्छ,’ नेपालका तर्फबाट टोलीमा सहभागी परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनालले भनिन, ‘भुटानको संसद्बाट अनुमोदन भएपछि मात्र सञ्चालनमा आउनेछ । सम्पूर्ण प्रक्रिया सकिन झन्डै ६ महिना लाग्न सक्छ ।’
यसरी सवारीसाधन सञ्चालन गर्न भारत, भुटान, बंगलादेश र नेपाल सरकारले संयुक्त रूपमा पहल गरेको टोलीमा सहभागी नेपाली प्रतिनिधि गोविन्द खरेलले बताएका छन ।
‘तीनवटा मुलुकले सहमतिमा हस्ताक्षर गरिसकेपछि तीनवटै देशको संसद्बाट अनुमोदन पनि भइसकेको छ,’ उनले भने, ‘भुटानले चाहिँ अनुमोदन गर्न केही प्रक्रिया बाँकी छ, तर भुटानले परीक्षण यात्राका लागि शुभेच्छा दिएको छ, पत्र पनि लेखेको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्