सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘आराम नै हराम’ भन्थे बृद्धभत्ताका संस्थापकले

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले) का पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाउँदैछ ।

मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो ।

अधिकारी २०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए ।

मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । यसको ‘जस’ एमालेले अहिलेसम्मका चुनावमा लिँदै आइरहेको छ ।

तत्कालीन नेकपा माले र नेकपा मार्कस्वादीको एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बनेका थिए । उनी जीवन पर्यन्त एमालेको अध्यक्ष रहे । मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो ।

 

नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका थिए । २००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुन् ।

करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक–पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन बिताएका थिए ।

२०५६ सालको आम निर्वाचनका क्रममा काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा ०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए ।

यसैबीच, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्ठाको खडेरी परेको नेपाली राजनीतिमा अधिकारीको अभाव सधैं खड्किरहने बताएका छन् । मनमोहन स्मृति दिवसका अवसरमा ओलीले जारी गरेको वक्तव्यमा मनमोहन अधिकारीको ‘आराम नै हराम’ हो भन्ने उक्तिले आफूहरु सबैलाई निरन्तर प्रेरित गरेको उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्