एकता विदेशी शक्तिविरुद्धको अन्तिम लडाईँः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र एमालेबिचको एकता भाँड्न विदेशी शक्ति सक्रिय भएको बताएका छन् । एमालेसँगको एकता प्रक्रिया लम्बिरहेको बेला प्रचण्डले एकता सफल पार्ने चुनौति रहेकोबारे स्पष्ट पार्दै यस्तो धारणा राखेका हुन ।
रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’
शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने तयारी भइरहेको अध्यक्ष प्रचण्डले जानकारी दिएका छन ।
अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय रहेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आह्वान गरेका छन ।
अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा ढिलाइ गर्न नहुनेमा जोड दिएका छन । वाम एकता जनताको साझा सम्पति भएको उनको भनाइ थियो ।
पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै प्रचण्डले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिस्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६ र ७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्