भारतबाट कुहिएको मासु नेपाल आउने गरेको खुलासा
भारतीय प्रहरीले बिहीबार मरेको जनावरको आशंका गरिएका २० टन कुहिएको मासु जफत गर्यो । ती मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा भएको छ । घटनामा संलग्नताको आशंकामा एक राजनीतिक व्यक्तिसहित १० जना पक्राउ परेका छन् ।
भारतीय प्रहरीका एक अधिकारीले भने–‘यी मासु खासगरी पश्चिम बंगालका डिपार्टमेन्टल स्टोरका साथै झारखण्ड, ओडिसा र बिहारमा पनि बेचिएको पाइएको छ । साथै छिमेकी देशहरुमा पनि आपूर्ति गरिँदो रहेछ ।’
उनले भने, ‘प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरुले नेपालको बजारमा पनि मासु सप्लाई गर्ने गरेको स्वीकारेका छन् । यस विषयमा हामी नेपालका अधिकारीहरुसँग पनि परामर्श गर्दैछौं ।’
आरोपितहरुले पश्चिम बंगालका विभिन्न स्थानबाट मरेका जनावरहरु संकलन गरेर प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सुरुमा उनीहरु फर्मालिनले मासु धुन्छन् । त्यसपछि यसलाई बिग्रनबाट जोगाउनका लागि मासुबाट बोसो अलग गर्छन् र क्याल्सियम प्रोपानोयट हाल्छन् ।
अनि यसलाई आल्मुनियम सल्फेट र लिड सल्फेटमा मिसाइन्छ ताकि यसमा रहेको दुर्गन्ध हटोस् । ‘अन्त्यमा यसलाई प्याक गरेर विभिन्न बजार तथा रेस्टुरेन्टहरुमा पुर्याइन्छ ।
यसैबीच शनिबार प्रहरीले दाक्सिन्दरी क्षेत्रमा कुखुराको मासु बेच्ने पसलहरुमा छापा मारेको छ । पश्चिम बंगाल सरकारले आफ्ना सबै प्रहरी चौकीहरुलाई आआफ्नो क्षेत्रमा मासु विक्रीको अनुगमन गर्न निर्देशन दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्