साढे ३३ केजी सुनकाण्डः मल्लको सनसनीपुर्ण बयान
सनम शाक्यको हत्यासँगै साढे ३३ केजी सुनकाण्डबारे नयाँनयाँ तथ्यहरु खुल्दै आएका छन । प्रहरी अपराध महाशाखाको टोलीले १९ फागुनमा अपहरणपछि हत्या गरिएका युवक सनम शाक्यको शवसहित तीनजनालाई पक्राउ गरेको थियो ।
सुन तस्करीको विषयमा विवाद भएपछि सनम शाक्यको अपहरण भएको सूचनाका आधारमा काठमाडौंबाट टोली मोरङ पठाएको प्रहरीको दाबी थियो । तर, सुन तस्करीबारे अनुसन्धान गर्न बनेको छानविन समिति सामू अभियुक्तहरुले दिएको बयानलाई पत्याउने हो भने अपराध महाशाखाको असली रुप उदाङ्गो बनाएको छ ।
वयान अनुसार प्रहरी टोली बन्धक युवकको उद्दार गर्न होइन कि सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले हत्या गरेका युवक सनम शाक्यको शव व्यवस्थापन गर्न धरान पुगेका थिए । सनमको शव लुकाउन नसकेपछि प्रहरीले शव भेटिएको सार्वजनिक गर्न गज्जबको नाटक रचेको खुलेको छ ।
प्रहरीले सनमको शवसहित टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरुको वयानअनुसार सनमको हत्या १८ गते नै गरिएको थियो । काठमाडौंबाट जाने प्रहरीलाई पर्खने क्रममा सनमको शव स्कोर्पियोमा राखेर एकदिनसम्म धरानमा घुमाइएको थियो ।
गोरेका सहयोगीहरु सनमको शव लिएर धरान पुगेका थिए । निर्भाना कन्ट्री क्लबमा वियर खाए । त्यहीबेला सनमको हत्या भएको हल्ला उर्लाबारीमा फैलिएको सूचना पाएपछि गोरेले धरानबाटै काठमाडौंमा रहेका एसपी विकाशराज खनाल र सई बालकृष्ण संजेललाई जानकारी गराएका थिए ।
गोरेले यो विषय मिलाउन २ करोड दिने अफर गरे । त्यसपछि ५० लाख दिने आश्वासनसहित टेकराज मल्ललाई लास जिम्मा लगाएर गोरे धरानबाट गायव भए । गोरेले परिवारलाई काठमाडौं सेटल गर्ने आश्वासन दिएर सनमको शव जिम्मा लगाएका थिए ।
लास दफनाउनका लागि काठमाडौंबाट आउँदै गरेको अपराध महाशाखाको टोलीलाई कुर्न स्कार्पियो चालक टेकराज मल्ललाई गोरेले निर्देशन दिएर आफू गायव भएका थिए ।
गोरेले ‘अपराध महाशाखाको प्रहरीसँग सबै कुरा भइसकेको छ । टोली नआउँदासम्म धरानका विभिन्न स्थानमा लासलाई बा १२ च ५९६३ नं.को गाडीमा राखेर घुमाउँदै गर्नु र महाशाखाबाट प्रहरीको टोली आएपछि सबै उनीहरुले मिलाउँछन’ भनेको टेकराज मल्लको वयानमा उल्लेख छ ।
गोरेले उनलाई अदालतबाट जसरी पनि निकाल्ने वचनसमेत दिएका थिए । यति भनेर गोरे अलप भएपछि टेकराजको टोलीले गाडीमा शव राखेर धरानको तिनकुने छेउको जंगलमा घुम्दै गर्दा उनलाई राति १० बजे काठमाडौंबाट प्रहरी सञ्जेलले फोन गरे । उनले काभ्रेको भकुण्डेबेंसी आइपुगेको जानकारी दिए ।
मध्यरातमा संजेल आफैंले फोन गरी के गर्दैछौ ? गोरे कहाँ छ ? भनेर सोधेका थिए । गोरे भारत गइसकेका थिए । १० गते राति साढे २ बजेतिर सञ्जेलले ‘हामी धरानको बसपार्कमा आईपुग्यौं तिमी कहाँ छौं’ भन्दै फोन गरे ।
भानुचोकमा सनमको शव बोकेको गाडी घुमाउँदै गर्दा सञ्जेलसँग भेट भएको टेकराजको वयान छ । ‘सञ्जेल मामा भनेको तपाई हो भनी सोध्दा निजले सञ्जेल मामा भन्ने मै हो र म अपराध महाशाखामा कार्यरत सई बालकृष्ण संजेल हुँ भनी चिनाए’ मल्लले वयानमा भनेका छन् ।
मल्लको वयान अनुसार सञ्जेललाई भेटेको केहीबेरमा भानुचोकमै डीएसपी प्रजित केसी पनि आइपुगे । र, उनीहरुले भानुचोकमा रहेको सिमेन्टको चौतारामा बसेर गफ गरे ।
टेकराजको टोलीले केसी र सञ्जेललाई घटना कहाँ कसरी भयो बेलिविस्तार लगाए । सञ्जेलले घट्ना सिराहा जिल्लाको लाहान आसपास भएको होइन र ? भनेर प्रश्न सोधेका थिए । मल्लले बयानमा भनेका छन–‘गोरेले केही भारतीय मूलका मानिसहरुले सिराहाको लाहान आसपासमा सनम शाक्यको हत्या गरेको भनी जानकारी गराएका रहेछन ।’
प्रहरीहरुले सनमको लास गाडीमै भएको थाहा पाए तर, हेरेनन् । प्रहरी टोलीले गोरेलाई सम्पर्क गर्न खोजे तर, उनी भारत गइसकेका थिए । उनीहरुले गोरेकी पत्नी निरू भन्ने नर्बदा खरेललाई फोन गरी गोरेबारे सोधखोज गरे तर, निरुले अहिले मेरो सम्पर्क भएको छैन, सम्पर्क भएपछि तपाईलाई सम्पर्क गराइदिन्छू भनिन् र फोन स्वीच्ड अफ गरिन् ।
टेकराजको वयानअनुसार डीएसपी प्रजित केसीको प्रस्तावमा उनीहरु सुत्ने होटल खोज्न इटहरी पुगे । सञ्जेलले चिनेको होटल छ भन्दै इटहरी जाने प्रस्ताव गरे । भानुचोकबाटै प्रहरीको गाडी मगाए ।
सई संजेल, प्रहरी जवान मेष राना भने टेकराजले चलाएको बा १२ च ५९६३ नम्बरको स्कारपियोमा बसे, जहाँ सनमको शव थियो । डीएसपी प्रजित केसी धरान प्रहरीले उपलब्ध गराएको गाडीमा बसेर इटहरी पुगे । सञ्जेलले चिनेको होटलमा फोन उठेन र उनीहरु चोकदेखि पश्चिमतर्फको स्वस्तिका होटेल पुगे । सनमको शब गाडीको डिकीमा नै थियो ।
प्रहरी र गोरेका ड्राइभरले तीनवटा कोठा बुक गरे । ५०६, ५०९ र ५१० नं. का रुमहरु बुक गरी रुम नं. ५०६ मा डीएसपी प्रजित के सी, रुम नं. ५०९ मा प्रहरी जवान मेष राना र प्रहरीको गाडीका चालक र गोरेका चालक टेकराज बसे । रुम नं. ५१० मा सई सञ्जेल बसे ।
बिहान सञ्जेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई बोलाउन लगाए । संजेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई एक कागजमा साइन गर्नुपर्ने छ भनी बहाना बनाएर बोलाउन भनेको टेकराजको वयान छ ।
दुबैजना आएपछि गोरेका तीनैजना कार्यकर्तालाई डीएसपी प्रजित केसीको रुममा लगियो । त्यहाँ सञ्जेलले पेस्तोल देखाएर ‘ईन्काउन्टर स्पेसलिस्ट सञ्जेल मामा भनेको मै हो, मलाई चिनेको छ ? मैले हालसम्म २÷३ जनाको ईन्काउन्टर गरिसकेको छु’ भन्दा मल्लले म तपाईलाई चिन्छु, म गोरेसँग हनुमानढोका आउँदा तपाईलाई चिनेको’ भनेको वयानमा उल्लेख छ । उनले यो छानविन समितिसँगको वयानमा पनि स्वीकार गरेका छन् ।
बिहान अपराध महाशाखाको प्रहरी टोलीको सल्लाहअनुसार नै प्रहरीको गाडीमा डीएसपी प्रजित के.सी र कृष्ण भन्ने नरेन्द्र कार्की चढे भने लाससहितको बा १२ च ५९६३ नं.को स्कोर्पियोमा प्रहरी जवान मेष राना चढे । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नं. को पिकअपमा सञ्जेलसहित अरु चढे ।
ईटहरीबाट विराटनगरतर्फ जाने क्रममा सई सञ्जेलले सनम शाक्यलाई करेन्ट लगाउन प्रयोग गरिएका ब्याट्री र तारहरु मे १ च ५३९५ नं. को गाडीबाट बा १२ च ५९६३ नम्बरको गाडीमा राखिदिए । त्यसपछि सनमको शव भएको गाडी अगाडि, डीएसपी केसी चढेको गाडी बीचमा र सञ्जेल चढेको गाडी पछाडि बसेर सुनसरीको दुहवी पुगे ।
डीएसपी केसीको निर्देशनअनुसार प्रहरी जवान मेष रानासहित आफूहरु जंगल खोजी लासको व्यवस्थापन गर्न दुहबी बजारबाट दाहिने साईड लागेको टेकराजको वयान छ । तर, लगभग २÷३ कि.मी.अगाडि जाँदा पनि जंगल नभेटेको र गाउँ आएपछि उनीहरु फर्किए ।
दुहबी बजारबाट बिराटनगरतर्फ जाने क्रममा बरगाछी पुगेपछि डीएसपी केसीले पूर्वतर्फ छिर भने । यसपछि घटनाले नाटकीय मोड लियो । बरगाछीबाट पूर्वतिर करिव २०० मिटर अगाडि पुगेपछि डीएसपी प्रजित केसीले प्रहरी जवान रानालाई फोन गरेर गाडी रोक्न निर्देशन दिए । लगत्तै टेकराजले शव रहेको गाडी रोके ।
त्यहीबेला डीएसपी केसी चढेको गाडीले बाटो छेक्यो । प्रहरी जवान राना हतार हतार सनमको शव भएको गाडीबाट प्रहरीको गाडीतर्फ गए । डीएसपी केसीले प्रहरीको गाडीबाट बाहिर आएर सनमको शव भएको गाडीको चेकजाँचको नाटक गरे । डिकीमा सनमको शव थियो ।
टेकराजले बयानमा भनेका छन–‘वरिपरि मानिसहरुको भिडभाड बढिसकेको थियो । हामीलाई गाडीमा राख्ने समयमा डिएसपी प्रजीत केसीले जिल्ला प्रहरी कार्यालय मोरङमा फोन गरेर गाडीमा लास फेला परेको र मानिसहरुको समेत भीडभाड भएको हुनाले थप प्रहरी आवश्यक पर्यो भनी प्रहरी बोलाए ।’
अपराध महाशाखाको टोलीले टेकराज, नरेन्द्र र मोहनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाएर पठायो । त्यसअघि सई बालकृष्ण सञ्जेलले ‘हामीले केही गर्न सकेनौं, अब कसलाई बचाउने र कसलाई नबचाउने तिम्रो हातमा छ’ भनेको मल्लले वयान दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्