चियापसलमा ६० हजारमै विदेशिलाई नागरिकता
सामान्यतया सर्बसाधारणले नागरिकता लिन पर्यो भने अनिवार्य रुपमा अभिभावक चाहिन्छ । बिना अभिभावक नागरिकता लिन सम्भबै छैन । त्यसबाहेक साँझी राख्ने कुरा, वडाको सिफारीसको कुरा यो सबै प्रक्रिया त छँदैछ । तर यही नागरिकता भारतीय सिमा जोडिएका तराईका जिल्लामा विदेशीलाई पैसाको भरमा सजिलै पाईन्छ । त्यो पनि चिया पसलमा ।
नेपाली नागरिकता लिनेमा खासगरी भारतीय अपराधीको सुची पहिलो नम्बरमा आउँछ । त्यसपछी भारतीय व्यापारी, सर्बसाधारण र बंगलादेशीले नेपाली नागरिकता लिने गरेको यसअघि सार्बजनिक भएका घटनाहरुले नै देखाईसकेका छन ।
नेपाली नागरिकताको किनबेच हुने मुख्य ठाउँको रुपमा सप्तरी, सिराहा पहिलो नम्बरमा आउँछ । सप्तरीबाट कीर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा नक्कली नागरिकता फेला परेका छन ।
ती तीनवटै नागरिकता चिया पसल र होटेलका कोठामा बनाइएको खुलासा भएको छ । पछिल्लोपटक भारतीय नागरिकहरु मन्टुकुमार साह, रामरित रजक र रवि रौनियारको कीर्ते नागरिकता फेला परेको हो ।
उनीहरुको नागरिकता जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नभई बजारमै कसैले रकम लिएर बनाइदिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन । जिल्ला प्रशासन सप्तरीले सोमबार मात्र भारत घर भई सप्तरी ठेगाना देखाई कीर्ते नागरिकता लिएका मन्टुकुमारलाई पक्राउ गर्न प्रहरीमा पत्राचार गरेको छ ।
बिहारको मधुवनी जिल्ला स्थायी घर भएका मन्टुकुमारले मन्टुकुमार दासका नाममा ०६३ पुस १ गते कीर्ते नागरिकता लिएको जिल्ला प्रशासनले जनाएको छ । मन्टुले प्रयोग गर्दै आएको नागरिकतामा सप्तरी जिल्लाको साविक रौतहट गाउँ विकास समिति वडा नम्बर १ ठेगाना लेखिएको छ ।
उनको नागरिकतामा ७६५४ नम्बर उल्लेख छ । उक्त नम्बर इलाका प्रशासन कार्यालय बोदेवरसाइन मातहतबाट जारी हुनुपर्ने देखिएको तथा इलाका प्रशासनबाट उक्त नम्बरसम्म नागरिकता वितरण भइनसकेकाले मन्टुको नागरिकता कीर्ते नै रहेको कार्यालयको मुद्दा फाँटका नायब सुब्बा ओमप्रसाद पौडेलले बताएका छन ।
मन्टुको नागरिकता कीर्ते रहेको उजुरी प्रशासनमा परेपछि उक्त नम्बरबारे कागजात खोज्दा कुनै प्रमाण फेला नपरेको तथा इलाका प्रशासनबाट पनि ती नम्बरको नागरिकता जारी नभएको अवस्थामा कीर्ते नै भएको पुष्टि नायब सुब्बा पौडेलले गरेका छन ।
मन्टुले कीर्ते नागरिकताकै आधारमा सप्तरीमा जग्गाको कारोबार गर्दै आएको प्रशासन स्रोतले जनाएको छ । मन्टुले सबभन्दा बढी ०६६ मंसिर १२ गते ११ कठ्ठा १७ धुर जग्गा बेचेका थिए । उनी किर्ते नागरिकता बनाएर सप्तरीमा जग्गाको कारोबार गर्दै आएको र अझै पनि उनको नाममा निक्कै जग्गा रहेको प्रशासनले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मन्टुको नागरिकता कीर्ते भएको पुष्टि भएपछि प्रशासनले जिल्ला प्रहरीलाई पक्राउ गरी आबश्यक अनुसन्धान गर्न पत्राचार गरेको छ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिकाबाटै कीर्ते नागरिकता लिएको भन्दै प्रहरीले भारतीय नागरिक रामरित रजकलाई पक्राउ गरेको छ । झापाको दमक ७ बस्दै आएका उनीसित राजविराज नगरपालिका ३ ठेगाना भएको २८४०/३२६१ नम्बरको नेपाली कीर्ते नागरिकता रहेको छ ।
इलाका प्रशासन दमकमा कुनै सिफारिस लिन गएको बेला कर्मचारीलाई उनको नागरिकतामाथि शंका लागेर छानबिन गर्दा कीर्ते फेला परेपछि पक्राउ गरी सप्तरी लगिएको छ । जिल्ला प्रहरीले पक्राउ गरिएका रजकको बयानपछि उनको नागरिकता कसले र कसरी बनाइदिएको हो भन्ने खुल्ने बताएको छ ।
नेपाली नागरिकताको मुल्य ६० हजार
यसैबीच सप्तरी ठेगाना देखाई कीर्ते नागरिकता लिएका भारतीय नागरिक रवि रौनियारले ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन । रौनियारले नागरिकता बनाउनुअघि ५० हजार र बनिसकेपछि १० हजार दिएर राजविराजको नेताचोकस्थित चिया पसलमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको बयान दिएका छन ।
भारत बिहारको सितामढी जिल्ला अन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियार नेपाली नागरिकता प्राप्त गरेपछि सुनसरीको इटहरी उप–महानगरपालिका १७ मा बसोवास गर्दै आएका थिए ।
कीर्ते नागरिकतावाला रौनियारको सप्तरी मलेकपुरबाट नागरिकता जारी भएको देखिए पनि स्थानीयका अनुसार मलेकपुरमा रौनियार थरका एक घर पनि छैनन । उनीसित रहेको नेपाली नागरिकताको नम्बर १६/८५८६३ रहेको छ ।
नागरिकताको अगाडि भागमा उक्त नम्बर रहे पनि पछाडि भागमा अग्रेजीमा भने ८५४६३/८९५ नम्बर उल्लेख रहेको छ । जामुन रौनियारको छोरा भई उनले नेपाली नागरिकता लिएको देखिए पनि मलेकपुरमा जामुन रौनियार नामका ब्यक्ति नै छैनन ।
रौनियारको नागरिकता बनाइदिने छिन्नमस्ता–४ का सुरेन्द्रप्रसाद साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसमक्ष साहले आफूसित नेपाली नागरिकता प्रमाणपत्रको पुरानो कार्ड रहेको र आफूले नै राजविराजको नेता चोकमा नेपाली नागरिकता भरेर दिएको स्वीकार गरेको प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताएका छन ।
साहले बयानका क्रममा आफू पहिला गाविसमा कर्मचारीको काम गर्ने गरेको र जिल्ला प्रशासनबाट केही प्रति नागरिकताको प्रमाणपत्र आफूसित राखेको बताएका छन । रौनियारसित काल्पनिक बाबु बाजे कायम गरी आफैंले जिल्ला प्रशासनको छाप र प्रशासकीय अधिकृतको हस्ताक्षर गरी नागरिकता प्रमाणपत्र दिएको अनुसन्धानबाट खुलेको छ ।
यसअघि सप्तरीबाटै कुख्यात भारतीय अपराधी धीरेन्द्र यादब, बमबम यादब लगायत दर्जनौं आपराधिक गतिविधिमा संलग्न र व्यापारी तथा सर्वसाधारणले नेपाली नागरिकता लिएको तथ्य खुलिसकेको छ ।
यस्तै भारतको पश्चिम बंगाल राज्यस्थित उत्तरी दिनाजपुर जिल्लाको अन्नतकोठाग्रामका मोहम्द लतिफुर रहमान, बिहारको किसनगञ्जका नाबेद आलम र बिहार सुपौलका सरौ आलमलाई प्रहरीले नक्कली नेपाली नागरिकतासहित नियन्त्रणमा लिएको थियो ।
यस्तै भारत घर भई सुनसरी सदरमुकाम इनरुवा बस्दै आएका विनित देवलाई किर्ते नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको थियो । यस्तै भारतको हरियाणाका व्यापारी सतिष अग्रवाल र उनकी पत्नी मोनिकाले पनि सप्तरीको राजविराज ठेगाना देखाई किर्ते नागरिकता लिएका थिए ।
यसैगरी केही समयअघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका भारतीय सिरियल किलर मस्तकिम भनिने रइस मियासित बंशजको नेपाली नागरिकता रहेको थियो । सातजनाको हत्यामा संलग्न भनिएका रइसले सप्तरीको तत्कालीन सारस्वर गाविस ७ ठेगाना देखाई ०६३ चैत १० गते ०६३१०६–४९० नम्बरको बंशजको नागरिकता लिएका थिए । उनी भारत बिहारका नागरिक हुन ।
भारतमा विभिन्न अपराध गरी नेपाल प्रवेश गरेर तत्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका सप्तरी जिल्ला इन्चार्ज बताउने सुभास झाले सुनसरी जिल्लाको श्रीपुर गाविस ३ बाट दिनेश झाको नाममा नेपाली नागरिकता लिएका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्