सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामा गोली चल्दा नेपालीसहित ३ को मृत्यु

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । अल्पकालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कम्पनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा ३ जनाको ज्यान गएको हो ।

स्थानीय अधिकारीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गोली लागी नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुई जनाले ज्यान गुमाएको जानकारी दिएका थिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिएका छन ।

अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए । सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो ।

श्रीमान काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न सुरु गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिँदै अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिएका छन ।

ज्यान गुमाउने वृन्दाको नेपालमा माईती पर्वत हो भने स्थायी घर कास्की हो । वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमन र बुहारी समेत लामो समयदेखि अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्