सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एसिड आक्रमणकी घाईते सम्झना दासको निधन

तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । किर्तिपुर अस्पतालमा उपचार गराईरहेकी १८ बर्षिया सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा निधन भएको हो ।

उनको आइसीयूमा उपचार भइरहेको थियो । सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी भईरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा मेजर बर्न (गम्भीर जलेको) हो ।

मेडिकल भाषामा सेप्सिस (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिएका छन ।

‘यस्तो अवस्थामा उपचारका लागि ल्याउँदै गर्दा नै शरीर चिस्याउनेदेखि पानी दिनेसम्मका साबधानीहरू अपनाउनुपर्छु’, उपचारमा संलग्न एक चिकित्सकले भने–‘उहाँलाई यहाँ ल्याउनु अघि ती साबधानी अपनाउन सकेको देखिन्न । हामीले कोसिस त गर्यौँ तर सफल भएनौँ ।’

शरीरको २० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थालाई मेजर बर्न भनिन्छ । बच्चाहरूमा भने १० प्रतिशत शरीर जल्नुलाई मेजर बर्न भनिन्छ । एसिडबाट शरीर जल्नु जीवनरक्षाका दृष्टिले अँझ संवेदनशील हुन्छ ।

अस्पताल पुर्याउनुअघि आइसले शरीर चिस्याउने लगायतका काम गर्न नसकेमा उपचार प्रभावकारी नहुने चिकित्सकको भनाई छ । चिकित्सकका अनुसार सम्झनाको अनुहार, टाउको, छाति, ढाड, हात लगायतका अंग जलेका थिए ।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए । घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए । मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्