सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्युसन पढ्न गएका युनिस गिरी ३ दिनदेखी बेपत्ता

रुपन्देहीको बुटवलमा शनिबार विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन । तिलोत्तमा नगरपालिका–१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० मा पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन ।

ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएको विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स पाइन्ट र चप्पल लगाएर युनिस ट्युसन पढ्न गएका थिए । युनिस सानैदेखि तिलोत्तमा १ चपरहट्टीस्थित मामाको घरमा बसेर पढ्दै आएका थिए ।

युनिसका बुबाको केही वर्षअघि मृत्यु भइसकेको छ । आमा हेमा गिरीले पोखरामा विवाह गरेर उतै बस्दै आएकी छन । युनिस हराएपछि वडा प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएको तर तेस्रो दिनसम्म कुनै अत्तोपत्तो नलागेको युनिसकी सानीआमा गीता पौडेलले बताएकी छिन ।

पढाइमा औसत रहेका युनिस सोझो र घरबाट कहिल्यै बाहिर नजाने, धेरै साथी भाई नबनाउने स्वभावको भएको मामा केशव क्षेत्रीले बताएका छन । मामा केशवका अनुसार हराएका युनिसको बाहिर घुम्ने, साथीभाईको जाने खालको बानि नभएकाले एक्कासी हराउँदा चिन्तित भएको बताएका छन ।

प्रहरीमा निवेदन दिए पनि प्रहरीले खोजी कार्यमा त्यति वास्ता नगरेको आफूहरुलाई लागेको युनिसका मामा क्षेत्रीले गुनासो गरेका छन । युनिसका मामा केशवले भने–‘ठूला ठालूका छोराछोरी हराएको भए सिंगो फोर्स लगाएर खोज्थे होला, सर्वसाधारणका छोराछोरी हराउँदा वास्तै गर्दैनन्, जो भए पनि बराबर चासो र चिन्ता राखेर प्रहरीले खोजी गरिदिनुपर्छ ।’

विद्यालयका शिक्षक चण्डी पाण्डेले युनिस पढाइमा औसत भए पनि अनुशासित र सोझो विद्यार्थी भएको बताएका छन । वडा प्रहरी कार्यालय बुटवलका प्रमुख अमर थापा क्षेत्रीले इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयसम्म जानकारी गराइसकेको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्