निर्मला हत्याकाण्डमा प्रहरीको अनुसन्धान शुन्य
कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो ।
साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । घटना भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।
अहिलेसम्म प्रहरी अनुसन्धान प्रगति शून्य जस्तै छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले भने–‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन । गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन ।’
अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको कडायतले दाबी गरेका छन । अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले पनि सघाइरहेको छ ।
गत भदौ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धीरु बस्नेतको संयोजकत्वमा समिति पुनर्गठन गरी फेरि अनुसन्धानका लागि कञ्चनपुरमा रहेको छ । तर यो समितिले पनि अहिलेसम्म ठोस प्रमाण पनि जुटाउन सकेको छैन । प्रहरीले हत्याराको कुनै सुइँको पाउन सकेको छैन ।,
फेसबुकबाट कमेन्ट गर्नुहोस्