सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारले नै लुकायो निर्मला हत्याकाण्डको प्रतिवेदन

बलत्कारपछी हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका अनुसन्धानका विषयवस्तुलाई पनि गुपचुपमै राखिएको छ ।

मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन । तर, यसअघि चर्चा गरिँदै आएको ‘संदिग्ध हत्यारा’ को बारेमा केही पनि बिषय सार्वजनिक गरिएको छैन ।

प्रतिवेदन बुझाउँदै गर्दा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव वीरेन्द्र केसी लगायतको उपस्थिति थियो ।

प्रतिवेदन बुझाएपछि समितिका सदस्य उप–सचिव वीरेन्द्र केसीले निर्मलाले न्याय पाउनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन । केसीले भने–‘मैले जे देखे, त्यो लेखेँ । भोलि मैले लेखेको कुरा हो कि हैन भनेर हेर्नका लागि मसँग प्रतिलिपि छ ।’

उनले निर्मलाको न्यायका लागि आफूले हिँजो पनि सम्झौता नगरेको र आज पनि नगर्ने बताएका छन । यद्यपि, उनले प्रतिवेदनमा के कुरा लेखिएको छ, जसले घटनाको रहस्यको पर्दा उघार्छ त्यो कुरा भने खुलाउन चाहेनन् ।

यसअघि राजीनामा दिँदै गर्दा उनले घटनाको अपराधी उम्कन सक्ने खतरा भएको दाबी गरेका थिए । तर, प्रतिवेदनमा आफ्नो सम्पूर्ण कुरा लेख्न सक्ने भनेर गृहमन्त्री थापाले नै आश्वस्त पारेपछि उनले राजीनामा फिर्ता लिएका थिए ।

 

प्रतिवेदनमा समेटिएका कुरा गुपचुप राखिएपछि समितिका संयोजक हरिप्रसाद मैनालीसँग जिज्ञासा राख्दा उनले प्रतिवेदनमा खासै नयाँ केही नभएको बताउँदै पहिल्यै आएका कुराहरु नै समेटिएको बताएका छन ।

उनले पहिले चरण–चरणमा आएका विषयको विस्तृत रिपोर्ट प्रतिवेदन भएको बताएका छन । उनले अगाडी भने–‘हामीले विभिन्न चरणमा जानकारी दिइरहेका थियौं । त्यसैको फाइनल दिएका हौं । अभियुक्तको पहिचान गर्ने जिम्मा त प्रहरीकै हो नि ।’

यसअघि राष्ट्रियसभामा सांसदहरुले पन्त हत्या प्रकरणबारे सोधेको प्रश्नमा गृहमन्त्री थापाले सह–सचिव मैनालीको नेतृत्वमा गठित समितिलाई अभियुक्तको पहिचान गर्नेसम्मको जिम्मेवारी दिइएको बताएका थिए ।

तर, प्रतिवेदनमा अभियुक्तको पहिचान गरिएको छैन । गृहसचिव प्रेमकुमार राईले प्रारम्भिक प्रतिवेदनको आधारमा अनुसन्धान भइरहेको बताउँदै घटनामा संलग्न अभियुक्तको नाम किटान नगरिएको बताएका छन ।

घटनास्थल नजिकै रहेका नेपाली सेनाका अधिकारीहरुमाथि समेत अनुसन्धान भइरहेको विषयबारे जिज्ञासा राख्दा उनले त्यसबारे कुनै ‘ब्रिफ’ नभएको बताएका छन । उनले भने–‘प्रतिवेदनमा बम दिदीबहिनीको विषय पनि लेखिएका छन ।’ प्रहरीले गरेको कमजोरीको विषयमा उनले तत्कालिन एसपीले प्रमाण संरक्षण गर्न नसकेको देखिएको बताएका छन ।

समितिको अनुसन्धान विशेषतः प्रहरीमाथि नै केन्द्रित भएको स्रोत बताउँछ । घटनाको अनुसन्धानमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले प्रमाण जोगाउन सकेनन वा नष्ट गरे भन्ने विषयमा पनि अनुसन्धान गरिएको स्रोतको भनाइ छ ।

मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेलगत्तै उनी मानसिक रोगी भएको र मुख्य अभियुक्त हुन नसक्ने बताउँदै स्थानीयले आन्दोलन चर्काएका थिए । जसलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको थियो । त्यसक्रममा एकजना बालकको मृत्युसमेत भयो ।

यसअघि गृहले घटनास्थलमा निर्मलाको कपडा पखाल्ने प्रहरी जवान, तत्कालिन एसपी र सीडीओको सवारी चालक लगायतसँग पनि बयान लिएको थियो । यसअघि साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।

स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो । त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो । अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको भए पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्