अपहरणमा परे भनिएका डाक्टर प्रेमिकाको कोठामा
मंगलबार साँझ सिरहाको लहानबाट अपहरणमा परेको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ । सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।
अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुटाउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए । मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर एकाएक गायब भएका र सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीमा खबर गरेका थिए ।
जानकारी पाए लगतै प्रहरीले खोजबिन थालेर डाक्टर सवार जिप पश्चिमतर्फ गएको थाहा पाएर सबै प्रहरी चौकीमा उनको फोटो पठाएको थियो । बीच बाटोमै जिप छाडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेका यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनी जिल्ला अस्पताल हेटौंडा र त्यहीँको अर्को सहकारी अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले हेटौडा–९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले बताएका छन । खरेलका अनुसार यादवलाई श्रीमतीले कान्छी श्रीमतीसँगको सम्बन्ध छुटाउनका लागि लहान ल्याएर राख्दा उनी अपहरण शैलीमा भाग्न खोजेका हुन । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्