निर्मला हत्याकाण्डबारे गृहमन्त्रीले गरे नयाँ खुलासा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बिषयमा अनुसन्धान समितिले बुझाएको प्रतिवेदनपछी गृहमन्त्री रामबहादुर थापाले पहिलोपटक दुई नयाँ तथ्य सार्बजनिक गरेका छन ।
गृहमन्त्री रामबहादुर थापाले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताएका छन ।
गृहमन्त्री थापाले भनेका छन–‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्ती देखिएको छ । उनले लगाएका लुगा खोलेर जलाइएको छ । अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो । त्यही दिन तयार भएको मुचुल्कामा बुवाको औंठा छाप छ । जबकी उनका बुबा भारतबाट १२ गतेमात्र नेपाल आएका थिए ।’
साउन १० गते हराएकी निर्मलाको ११ गते उखुबारीमा शव फेला परेको थियो । घटना भएको दुई महिना बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार गृह मन्त्री थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
सो प्रतिवेदनमा के कुरा उल्लेख छ भन्ने सार्वजनिक गरिएको छैन । राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री थापाले सरकारले अँझै घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेकाले जो कोही दोषी भए पनि नउम्कने प्रतिवद्धता व्यक्त गरेका छन ।
बैठकमा थापाले भनेका छन–‘तपाईंहरू हाम्रो प्रभावकारितामा शंका गर्न सक्नुहुन्छ किनकी परिणाम आएको छैन । तर हाम्रो नियतमाथि शंका गर्न सक्नुहुन्न ।’ सांसदहरूले अपराधी कहिले पत्ता लाग्छ भनेर सोधेको प्रश्नमा मन्त्री थापाले भनेका छन–‘गृह प्रशासन र प्रहरी ज्योतिष होइन । यति गते परिणाम आउँछ भन्ने अवस्था होइन । प्रयासलाई तीव्रता दिन भने सकिन्छ ।’
उनले घटनालाई सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले पनि गम्भीरतापूर्वक लिएको छ । त्यसकारण दोषी उम्काउन राजनीतिक संरक्षण नहुने उनले बताएका छन । गृहमन्त्री थापाले भनेका छन–‘प्रहरी पनि दोषीलाई संरक्षण गर्ने सक्ने अवस्थामा छैन ।’
केही सांसदहरूले पछिल्लो समय बढिरहेका बलात्कारका घटना सरकारविरूद्ध प्रायोजित त होइनन भनी जिज्ञासा राखेका थिए । जवाफमा गृहमन्त्री थापाले सरकार त्यो निष्कर्षमा पुगिनसकेको बताएका छन ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सहभागी बैठकमा सांसदहरू झपट रावल र अमरेशकुमार सिंहले नेपाल प्रहरीमा चेन अफ कमाण्ड कमजोरी देखिएको बताएका थिए । जवाफमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै कसर बाँकी नराखी काम भएको छ र चेन अफ कमाण्डमा कमजोरी नभएको दाबी गरेका थिए ।
जवाफकै क्रममा महानिरिक्षक खनालले भनेका छन–‘एउटा कञ्चनपुरको घटनाले प्रहरीका अन्य काम छायाँमा परेका छन । अनुसन्धान निष्कर्षमा पुर्याएर फेरि यो समितिमा आएर बोल्न मन छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्