सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

निर्मला हत्याकाण्डबारे गृहमन्त्रीले गरे नयाँ खुलासा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बिषयमा अनुसन्धान समितिले बुझाएको प्रतिवेदनपछी गृहमन्त्री रामबहादुर थापाले पहिलोपटक दुई नयाँ तथ्य सार्बजनिक गरेका छन ।

गृहमन्त्री रामबहादुर थापाले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताएका छन ।

गृहमन्त्री थापाले भनेका छन–‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्ती देखिएको छ । उनले लगाएका लुगा खोलेर जलाइएको छ । अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो । त्यही दिन तयार भएको मुचुल्कामा बुवाको औंठा छाप छ । जबकी उनका बुबा भारतबाट १२ गतेमात्र नेपाल आएका थिए ।’

साउन १० गते हराएकी निर्मलाको ११ गते उखुबारीमा शव फेला परेको थियो । घटना भएको दुई महिना बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार गृह मन्त्री थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

सो प्रतिवेदनमा के कुरा उल्लेख छ भन्ने सार्वजनिक गरिएको छैन । राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री थापाले सरकारले अँझै घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेकाले जो कोही दोषी भए पनि नउम्कने प्रतिवद्धता व्यक्त गरेका छन ।

 

बैठकमा थापाले भनेका छन–‘तपाईंहरू हाम्रो प्रभावकारितामा शंका गर्न सक्नुहुन्छ किनकी परिणाम आएको छैन । तर हाम्रो नियतमाथि शंका गर्न सक्नुहुन्न ।’ सांसदहरूले अपराधी कहिले पत्ता लाग्छ भनेर सोधेको प्रश्नमा मन्त्री थापाले भनेका छन–‘गृह प्रशासन र प्रहरी ज्योतिष होइन । यति गते परिणाम आउँछ भन्ने अवस्था होइन । प्रयासलाई तीव्रता दिन भने सकिन्छ ।’

उनले घटनालाई सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले पनि गम्भीरतापूर्वक लिएको छ । त्यसकारण दोषी उम्काउन राजनीतिक संरक्षण नहुने उनले बताएका छन । गृहमन्त्री थापाले भनेका छन–‘प्रहरी पनि दोषीलाई संरक्षण गर्ने सक्ने अवस्थामा छैन ।’

केही सांसदहरूले पछिल्लो समय बढिरहेका बलात्कारका घटना सरकारविरूद्ध प्रायोजित त होइनन भनी जिज्ञासा राखेका थिए । जवाफमा गृहमन्त्री थापाले सरकार त्यो निष्कर्षमा पुगिनसकेको बताएका छन ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सहभागी बैठकमा सांसदहरू झपट रावल र अमरेशकुमार सिंहले नेपाल प्रहरीमा चेन अफ कमाण्ड कमजोरी देखिएको बताएका थिए । जवाफमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै कसर बाँकी नराखी काम भएको छ र चेन अफ कमाण्डमा कमजोरी नभएको दाबी गरेका थिए ।

जवाफकै क्रममा महानिरिक्षक खनालले भनेका छन–‘एउटा कञ्चनपुरको घटनाले प्रहरीका अन्य काम छायाँमा परेका छन । अनुसन्धान निष्कर्षमा पुर्याएर फेरि यो समितिमा आएर बोल्न मन छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS