सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

घुससहित पक्राउ परेका उप–सचिवको खातामा २ करोड

घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचार बापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

२ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँभन्दा बढी रकम भेटिएको हो । उनी १२ साउनमा ३६ लाख ७२ हजार रुपैयाँ घुससहित बुटवलमा पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा बैंक खातामा अस्वभाविक रकम देखिएपछि उनको सम्पतिको समेत छानबिन अघि बढाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन । नगदसहित घर, जग्गा लगायत सम्पत्तिको स्रोत के हो भन्ने विषयमा छानबिन अघि बढाइएको आयोगको भनाइ छ ।

उनी २ महिनादेखि आयोगको हिरासतमा छन् । आयोगले केही रकम उनकी श्रीमतीबाट समेत बरामद गरेको थियो । बरामद रकम आर्थिक वर्षको अन्त्यमा ठेकेदारहरूबाट लिएको अनुसन्धानमा खुलेको छ ।

घुससहित पक्राउ पर्ने कर्मचारीहरूविरुद्ध विगतमा उनीहरूको सम्पतिको छानबिन हुने गरेको थिएन । ठाकुरको सम्पति अस्वभाविक देखिएकाले अकुतमा पनि छानबिन थालिएको आयोगले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्