सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साबधान ! गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु

दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाइसेन्समा कडाइ, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने ।

दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने निर्णय गरेको हो । दसैं–तिहार जस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो ।

चालकले जुत्ता लगाएको र नलगाएको अनुगमन ट्राफिक प्रहरीले गर्नेछ । जुत्ता नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुनसक्ने प्रावधान छ । ‘जाँचका क्रममा चप्पल लगाएर कुदाउनेलाई सम्झाएर आइन्दा जुत्ता लगाउन भनिरहेका छौंं,’ ट्राफिक प्रहरी कार्यालय ईलामका इञ्चार्ज पदम राईले भने–‘अटेर गरे कारबाही प्रक्रियामा जानेछौं ।’

चालकले जुत्ता लगाउनैपर्ने भन्ने नयाँ नियम भने होइन । भइरहेकै सरकारी निर्देशिकालाई कार्यान्वयन गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।

जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकिय अधिकृत देवीचरण फुयालले भने–‘नियम भए पनि यसअघि कार्यान्वयनको प्रयासै गरिएन । अब पूर्ण रूपमा लागू गरिनेछ ।’

चप्पल लगाई सवारी चलाउँदा चिप्लिने, असहज हुने जस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिकले पाएको छ । ट्राफिक इन्चार्ज राईले भने–‘जुत्ता नलगाउनु पनि दुर्घटनाको एउटा कारण देखिँदा भइरहेको नियम कार्यान्वयन गर्न लागेका हौं ।’

समितिले जुत्तासँगै चालक परिचयपत्र र सिट बेल्ट पनि अनिवार्य गरेको छ । चाडबाडमा यात्रुहरूको अत्यधिक चाप हुने भएकाले आफ्ना सवारीहरू मर्मत गरेर दुरुस्त राख्न निर्देशन दिएको छ । यात्रु चापलाई ध्यानमा राखेर सुरक्षाका सबै उपाय अवलम्बन गर्न थालिएको समितिले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्