आयव्यय नबुझाउने लेखा अधिकृतले भेटे झापड
गत बर्षको आयव्यय समेत नबुझाएको र काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन । मेयर साहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको पुष्टि भएको छ ।
गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक–पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बहाना गरेको र गैरजिम्मेवारी तवरले जे गर्न सक्नुहुन्छ गर्नुस भनेपछि आफूले झापड हानेको मेयर साहले स्वीकार गरेका छन् ।
नगरप्रमुखले कार्यकक्षमा बोलाएर लेखा अधिकृत अधिकारीसँग हिसाबकिताब दिन आग्रह गरेका थिए । अधिकारीले जे गर्नु छ गर्नुस भन्दै उल्टै गैरजिम्मेवारी जवाफ दिएपछि आफूले बुधबार हात छोडेको नगरप्रमुख साहले बताएका छन ।
पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले बताए । भगाह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रामचन्द्र लामगादेले पनि आर्थिक बर्ष सकिँदा पनि अहिलेसम्म गत वर्षको आयब्ययसमेत नआएको पुष्टि गरेका छन ।
नगरपालिकाको हिसाबकिताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक–पटक लिखित मौखिक निर्देशन दिए पनि लेखा अधिकृतले अटेरी गर्दै आएको र गत बर्षको योजनाहरुको रकम समेत भुक्तानी गर्ने निर्णय भए पनि लेखा अधिकृतले अटेर गरेको जनप्रतिनिधिको भनाइ छ ।
उता झापड खाने लेखा अधिकृत पवन कुमार अधिकारीले मेयरलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानुनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्