भीआईपी जुवा अखडामा छापा, भाग्दा २ जनाको मृत्यु
महानगरीय प्रहरी परिसर काठमाण्डौले शुक्रबार राति काठमाण्डौको मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडा’मा छापा मारेको छ । जुवा खेलाईरहेको सुचना पाएपछी महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले मध्य राति जुवा खालमा छापा हानेको हो ।
प्रहरीले छापा मारेपछी प्रहरीबाट बच्न घरको ४ तलामाथीबाट हाम फाल्दा २ जना जुवाडेको ज्यान गएको छ । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका छन । उनीहरुको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर प्रमुख वसन्त लामाले बताएका छन ।
एसएसपी वसन्त लामाका अनुुसार जुवा खेलिरहेको ठाउँबाट एक महिला सहित २३ जना पक्राउ परेका छन । मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राति १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए ।
प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ । प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सोमलाल तामाङको शुक्रवार राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।
बाहिरबाट च्यानल गेटमा ताला लगाएर सञ्चालन हुने उक्त जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाईंदै आएको बताईएको छ । लामो समयदेखी यसरी जुवा अखडा चल्दै आए पनि महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम राईले उक्त अखडालाई संरक्षण गरेको आरोप लाग्दै आएको थियो । राईको संरक्षणमा जुवा अखडा चलेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाटै खटिएको प्रहरी टोलीले उक्त जुवा अखडामा छापा मारेको हो ।
जुवा खेलाउने अखडाकी नाईके हेमा गुरुङ्ग प्रहरी घाईतेको उद्धारमा खटिएका बेला भागेकी छिन । प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद गरेको छ । जुवा खेलेको घरमा एक पटकको १० हजार रुपैयाँ दिइने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घरबेटीलाई पनि पक्राउ गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्