आफ्नै बहिनि ज्वाँईले श्रीमती भगाईदिएपछी हैरान
कञ्चनपुर भीमदत्त नगरपालिका–५ सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन । मोर्याले द्रोपतीलाई मायाजालमा पारेर वा आर्थिक प्रलोभनमा पारेर बेच्नका लागि लगेको हो भन्नेबारे प्रष्ट नभएको परिवारले बताएका छन ।
पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाउँदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउछन । हरिस आफ्नी आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।
पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल जान भन्दै घरदेखि हिँडेका थिईन ।
‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन, ‘ईश्वरीले भनिन्–‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’
दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन । पन्नालाल र ईश्वरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो ।
उनीहरुको दुई छोरीमात्रै छन । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’ उनले भनिन ‘मैले त सोच्थेँ भाउजुसंग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुखेसो पोखिन ।
हरिसले ज्वाईसंगै भागेर गएकी श्रीमतीलाई कुनै पनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन । ‘मेरी बहिनीका श्रीमानसंग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने–‘यस्तो धोकादिनेसँग कसरी बस्न सकिन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्