निर्मला काण्डमा ल्यावको नमुना किन फेर्यो प्रहरीले ?
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ ।
घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लीराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानविन समितिले त्यसलाई सदर मात्र गरेको छैन, प्रमाणका रुपमा प्रयोगशालामा पठाइएको नमुनामै हेरफेर गरेको खुलासा गरेको छ ।
प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भदौ ४ गते तयार पारेको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरीरमा लगाउने गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ८ गते पठाइएको थियो ।
तर, दुई दिनपछि जिल्ला प्रहरी कार्यालयले दुई वटा चलानी नम्बरमा पत्र लेखेर नमुनामा नै सच्याएको पाइएको छ । प्रतिवेदनमा भनिएको छ–‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ ।’
मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जी र हाफ पाइन्ट दिलिपसिंह विष्टको घरबाट बरामद भएको थियो । प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, विष्टलाई दोषी प्रमाणित गर्न प्रहरीले नमुना परिर्वतन गराएको पाइएको छ ।
प्रहरी नायव निरीक्षक हरसिंह धामीका अनुसार विष्टले शौचालयमा हस्तमैथुन गरेको र हातमा विर्य लगाएर आएका थिए । त्यसपछि विष्टबाट बरामद भएको नयाँ नमुना प्रयोगशालामा पठाएको छानविन समितिको ठहर छ ।
‘प्रयोगशालामा पठाइसकेको नमुना किन परिर्वतन गर्नु पर्यो ?’, छानबिन समितिका एक सदस्यले भन्छन–‘मुचुल्कामा उल्लेख भएको नमुना हेरफेर गरेर अपराधी लुकाउन खोजिएको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्