सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वराजाको भारत भ्रमण किन ? राजतन्त्र फर्काउन ?

थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । बेलाबेला बिभिन्न बहानामा भारत गइरहने पुर्वराजा शाहको पछिल्लो सक्रियताले नेपाली राजनितीमा आशंका सिर्जना गरेको छ ।

प्रचारमा पुर्वराजा शाह एक धार्मीक कार्यक्रममा सहभागी हुन भारत जान लागेको बताइए पनि उनले उच्च तहको राजनितीक भेटघाट गर्ने बिशेष सुत्रले बताएको छ । तर त्यो उच्च राजनितीक भेटघाट भने गोप्य रुपमै हुने बुझिएको छ ।

नेपालमा राजतन्त्र हटेर नयाँ राजनैतिक व्यवस्था स्थापित भइसकेकाले हल्ला फिजाइए जस्तो राजतन्त्र फर्कने सम्भावना नरहे पनि राजाको पटकपटक हुने भारत भ्रमणले नेपाली राजनितिक वृत्तमा शंका भने थपिदिएको छ ।

पुर्वराजा शाह मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा असोज २४ देखि कार्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेको बताईएको छ ।

भ्रमणमा पुर्वराजा ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता जनाउने बताईएको छ । पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ ।

राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन । आयोजक समितिले नेपालबाट हजारौं धार्मिक कार्यकर्ता जुटाउन आग्रह गरेपछि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूह लागिपरेका छन ।

बस्नेतलाई सहभागी जुटाउने जिम्मा दिइएको छ । शिवसेना नेपालका सल्लाहकारसमेत रहेका राहुलेश्वरानन्दले करिब एक महिनाअघि ज्ञानेन्द्रलाई भेटेर प्रमुख अतिथिको निम्तो दिएका थिए । सोही निम्तो मान्न पूर्वराजाका परिवार भारत जान लागेको बताइएको छ ।

शिवसेना नेपालले नेपालीहरुको सहभागिताका लागि नेपालका विभिन्न स्थानबाट भारतको मुम्बईसम्म लैजाने र कार्यक्रममा सहभागिता गराउने जिम्मा लिएको छ । शिवसेना नेपाल मुम्बई सम्पर्क प्रमुख केवीजंग कुँवरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न र कार्यक्रममा सहभागी हुन सार्वजनिक अपिल गरेका छन ।

त्यसका लागि अध्यक्ष बस्नेतसहितको टोली भारत पुगिसकेको छ । नेपालबाट जाने एक हजार जनाको बन्दोबस्त शिवसेना नेपालले गर्नेछ । युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जन, विश्वहिन्दु महासंघका पदाधिकारी, राप्रपाका दोस्रो पुस्ताका केही नेता कार्यकर्ता समेत मुम्बई जाने कार्यक्रम तय भएको छ ।

एक हजार एक सय ब्राह्मणले चन्डी पाठ गर्ने कार्यक्रम रहेको यज्ञमा एक हजार यज्ञ कुण्ड रहनेछन । आयोजकले नेपालका विभिन्न धार्मिक निकायका प्रमुखलाई निम्तो दिएको छ । यज्ञमा दादा गुरुदेव स्वामी सच्चिदानन्द, परमहंस स्वामी निखिलेश्वरानन्द लगायतका भारतका चर्चित गुरुहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा भारतमा बस्ने अधिकांश नेपालीलाई निम्तो दिइएको छ । २६ गते महायज्ञको कार्यक्रममा सहभागी भएपछि पुर्वराजाले नेपालबाट गएका नेपालीलाई भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । कार्यक्रममा सहभागी हुन तीनैवटा राप्रपाका दोस्रो दर्जाका नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यज्ञको कार्यक्रम सकेलगत्तै ज्ञानेन्द्र परिवार केही दिनको दिल्ली बसाइपछि फूलपातिका दिन नेपाल फर्कने कार्यक्रम रहेको छ । नेपाल फर्के लगत्तै महाअष्टमीको दिन पूर्वराजाका परिवार शक्तिपीठमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्