सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वामदेवलाई सांसद बनाउन ३ करोड र मन्त्रीको चिट्ठा

नेकपा नेता वामदेव गौतमले काठमाडौं–७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासी लगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन ।

मानन्धरले राजिनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढे लगत्तै गौतमलाई वुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेद्वार बनाउने नेकपाको तयारी छ ।

नेकपाको उच्च स्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । पटक पटक सम्पर्क गर्दा मानन्धरको मोबाईल स्वीचअफ पाइएको छ । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्बाचित भएका हुन ।

पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए ।

नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजिनामा गराएर डोल्पामा चुनाव उठ्ने योजनामा थिए । तर जनताले दबाब दिएको भन्दै बूढाले राजीनामा दिन नमानेपछि नेकपाका महासचिव विष्णु पौडेलले बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि कुराकानी गरेका थिए । तर, रोकायसँग पनि सहमति हुन सकेन ।

योबीचमा बैतडीबाट दामोदर भण्डारी, दैलेखबाट रवीन्द्र शर्मा, प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेललाई राजीनामा गराउने प्रयास भएको थियो । तर, कतै पनि टुंगो नलागेपछि काठमाडौं–७ बाट उठाउन लागिएको हो ।

गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई पार्टीभित्रैबाट भएको अन्तरघातबाट हराइएको आशंकामा तत्कालीन एमालेले छानबिनसमेत गरेको थियो । नेता गौतम आफैँले पनि काठमाडौं–७ बाट उपनिर्बाचनमा उम्मेद्वार बन्न लागेको पुष्टि गरेका छन ।

असोज १४ गते दैनिकी अनलाईनले बामदेव गौतमलाई सांसद बन्न ठाउँ खाली गरिदिने सांसदलाई तीन करोड दिने घोषणा भएको खुलासा भएको भन्ने समाचार लेखेको थियो ।

समाचारमा उल्लेख भए अनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिन र असन्तुष्टिका नाममा देशैभर पार्टीको समानान्तर कमिटी घोषणाको तयारी गरिरहेका माधवकुमार नेपाल समूहलाई बलियो बनाउन गौतमलाई जसरी पनि सांसद बनाउने तयारी गरिएको छ ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता गम्भीर बिरामी परेसँगै राजनीतिक भन्दा बढी पारिवारिक काममा व्यस्त समेत रहन थालेपछि बामदेबलाई सांसद बनाउनै पर्छ भनेर लाग्ने समूहले तीन करोडको कार्ड फालेर केही सांसदसँग वार्ता गरेको समाचारमा जनाइएको छ ।

मानन्धरले मन्त्री पाउने लोभमा सांसद पदबाट राजिनामा गरी पार्टीभित्रको गुट परिवर्तन गरेको बताइएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओली गुटका हार्डलाइनर सांसद रहेका थिए ।

अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा र यसपटक पनि मन्त्री हुनका निम्ति अनेकन प्रयास गरेका मानन्धरले त्यस्तो कुनै गुञ्जायस नपाएपछि गुट परिवर्तन गरेका हुन । पछिल्लो समय विगतदेखि नै ओली र माधव नेपालको गुटमा रहेर केही नपाएको महशुष गरेका नेता कार्यकर्ता प्रचण्ड गुटमा मिसिन पुगेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्