सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिंहदरवारमै ठग्ने ठेकेदारले जनतालाई के टेर्लान !

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारभित्रै गुणस्तरहिन काम गर्ने ठेकेदारले सर्बसाधारण जनताको विकास निर्माणमा कसरी गुणस्तरीय काम गर्लान । सिंहदरवारभित्र हुने निर्माणका काम गर्ने ठेकेदारले यस्तै गुणस्तरहीन काम गरेको पाईएको छ ।

सिंहदरवारमा रहेको संसद् सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता ओढेर काम गर्नुपरेको छ भने कागजपत्र प्लास्टिकले ढाकेर जोगाएका छन ।

ब्राइट कन्स्ट्रक्सन र ज्ञानज्योति निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाचौँ तला निर्माण गरेका हुन । २०७४ को वैशाख ९ मा तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य गत चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको छ ।

सिंहदरबार सचिवालय पुनर्निर्माण समितिकी सूचना अधिकारी आरती पौड्यालले भनिन–‘निर्माण कम्पनीले गत चैतमा सचिवालयलाई भवन हस्तान्तरण गरयो । तर, यो बर्खाभर पानी चुहिएर कर्मचारी बस्न र भवनका सामान जोगाउन मुस्किल पर्यो ।’

बर्खाभर पानी चुहिएर हैरान भएपछि पुनर्निर्माण समितिले निर्माण कम्पनीलाई सचेत गराएको थियो । तर, ठेकेदारले थोरै टालटुल गरेर झारा टार्यो, ‘चुहियो भने फेरि खबर गर्नु’ भनेर जिम्मेवारीबाट पन्छियो । तर, पानी पर्दा भवन अहिले पनि चुहिने गरेको छ । निर्माण सम्पन्न भएको एक वर्षसम्म केही समस्या आए निर्माण कम्पनीले बेहोर्ने सम्झौता छ ।

संसद सचिवालयका उप–सचिव इन्द्रविलास पौडेलले भने–‘बर्खा सुरु भएपछि पानी चुहिन सुरु भयो । मैले आफ्नो कार्यकक्षमा प्लास्टिक र छाताले छेकेर डकुमेन्ट जोगाएँ । पानी चुहिएका कतिपय ठाउँमा बाल्टी पनि थाप्नुपर्यो । बाल्टी भरिएपछि पानी फल्दै, फेरि थाप्दै गरेर बर्खा काटियो । पानी चुहिएको जानकारी गराएपछि निर्माण कम्पनीले कामदार पठाएर टालटुल पारेर गएका छन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS