सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कमजोर बन्दै नेपाली पासपोर्ट, जापान शक्तिशाली

कुनै बेला नेपालको पासपोर्ट शक्तिशाली भनाउँदा राष्ट्रको बराबरी हैसियतमा थियो । दुनियाँका मै हुँ भनाउँदा देश वेलायत, सिंगापुर, हंकगङ्ग जस्ता थुप्रै मुलुकमा नेपाली पासपोर्टधारी नागरिकले अनअराईभल भिसा अर्थात सिधै सम्बन्धित एयरपोर्टमा गएर भिसा लगाएर प्रवेश पाउँथे ।

तर यो सबै अब एउटा इतिहास जस्तै भएको छ । अहिले ति देशहरुमा फ्रि इन्ट्रि त त्यस्तै हो भिसा लगाएर जान्छु भन्दा पनि जान पाईन्न । अहिले हाम्रो पासपोर्ट यति कमजोर भएको छ कि १०१ औँ नम्बरमा छ ।

कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।

विगत १३ वर्षदेखि विश्वभरका देशको पासपोर्टको वर्गिकरण गर्दै आएको संस्था ‘हेनेली पासपोर्ट इन्डेक्स’ले मंगलबार मात्रै सन् २०१८ मा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने सूची प्रकाशन गरेको छ ।

कुन देशका नागरिकले कति देशमा अन अराइभल भिसा वा भिसा फ्रि इन्ट्री पाउँछन भन्ने तथ्याङ्कलाई विश्लेषण गरेर सूची प्रकाशन गरेको हेनेलीले जनाएको छ ।

‘हेनेली पासपोर्ट इन्डेक्स’का अनुसार सन् २०१८ मा विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको बन्न सफल भएको छ । जापानी नागरिकले १९० देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् ।

जापानले म्यान्मारबाट यसै महिना मात्रै भिसा फ्रि इन्ट्रीको अनुमति प्राप्त गरेको थियो । दोस्रो स्थानमा रहेको सिंगापुरका पासपोर्टधारीले भने १८९ देशमा फ्रि भिसा इन्ट्री प्राप्त गर्छन ।

गतवर्ष सूचीको शीर्षस्थानमा रहेको जर्मनीको पासपोर्ट भने यसपटक तेस्रो स्थानमा झरेको छ । तेस्रो स्थानमा जर्मनीसँगै फ्रान्स र दक्षिण कोरिया पनि रहेका छन । यी देशका नागरिकले १८८ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन ।

त्यस्तै १८७ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्ने डेनमार्क, फिनल्याण्ड, इटाली, स्वीडेन र स्पेन चौथो स्थानमा रहेका छन । अमेरिका, बेलायत, नर्वे, अष्ट्रिया, लक्जेमबर्ग, नेदरल्याण्ड र पोर्चुगल भने पाँचौ स्थानमा रहेका छन । यी देशका नागरिकले १८६ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन ।

द्रुत रुपमा आर्थिक वृद्धि गरिरहेको छिमेकी मुलुक चीन भने ७१ औं स्थानमा रहेको छ । चिनियाँ नागरिकले ७४ देशमा भिसा फ्रि इन्ट्री पाउँछन । दक्षिण एसियाली देशहरुमध्ये मालदिभ्सको पासपोर्ट सबैभन्दा शक्तिशाली रहेको छ । इन्डेक्समा ५८ औं स्थानमा रहेको माल्दिभ्सका नागरिकले ८७ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्छन ।

त्यस्तै छिमेकी देश भारत ८१ औं स्थानमा रहेको छ । भारतीय नागरिकले ६० देशमा भिसाबिनै प्रवेश गर्न सक्छन । ५५ देशमा भिसा फ्रि इन्ट्री पाउने भुटान ८६ औं स्थानमा रहेको छ । ४२ देशमा भिसा फ्रि इन्ट्री पाउने श्रीलंका ९९ औं स्थानमा रहेको छ ।

त्यस्तै १०० औं स्थानमा रहेको बंगलादेशका नागरिकले ४१ देशमा भिसा फ्रि इन्ट्री पाउँछन् । १०१ औं स्थानमा रहेको नेपालका नागरिकले भने ४० देशमा मात्रै सहज प्रवेश पाउँछन् । त्यस्तै १०४ औं स्थानमा रहेको पाकिस्तानका नागरिकले ३३ देशमा मात्रै भिसा फ्रि इन्ट्री पाँउछन ।

अन्तिम स्थानमा भने इराक र अफगानिस्तान रहेका छन् । १०६ औं स्थानमा रहेका इराक र अफगानिस्तानका नागरिकले ३० देशमा मात्रै भिसा फ्रि इन्ट्री पाउँछन् ।

नेपाली नागरिकले एसिया महादेशका बंगलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, लाओस, माल्दिभ्स, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, श्रीलंका, टिमोरलिस्टे गरी ११ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन ।

त्यस्तै अफ्रिका महादेशमा पर्ने बेनिन, केप भर्डे आइल्याण्ड, कोमोरेस आइल्याण्ड, जिबोउटी, इजिप्ट, गाम्बिया, गिनी बिसाउ, केन्या, मदागास्कर, मौरिटानिया, मरिसस, मोजाम्बिक, रुवान्डा, सेनेगल, सेसेल्स, सोमालिया, तान्जानिया, टोगो, युगान्डा गरी १९ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन ।

त्यस्तै ओसियानिया अन्तर्गतका कुक आइल्याण्ड, माइक्रोनेसिया, न्यू, पालाउ आइल्याड, सामोआ, टुभालु गरि ६ देशमा भिसा फ्रि इन्ट्री पाउने गर्छन । क्यारेबियन देशका डोमिनिकन गणतन्त्र, हाइटी, सेन्ट भिसेन्ट एण्ड ग्रिनेडाइन्स र अमेरिकी महादेशको बोलिभियामा भिसा फ्रि इन्ट्री पाउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS