बुद्ध भारतमा जन्मेको प्रचार गर्दै नेपालका सांसद
प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा उपस्थित भएका थिए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो ।
उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ । कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद साह विशिष्ट अतिथि थिए ।
कार्यक्रममा सहभागी भएको तस्बिर सांसद साहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन । कपिलवस्तुवासीले सामाजिक संजालमा सांसद साहको चर्को विरोध गरेका छन् । सामाजिक सञ्जालमा लेखिएको छ–‘नेपालकै सांसदले बुद्ध जन्मस्थल भारत हो भनेपछि अरू के नै बाँकी रह्यो र, अझ कपिलवस्तुकै सांसद ।’
बुद्धबारे गलत सन्देश प्रचार गर्न आयोजित कार्यक्रममा उपस्थित शाहले परराष्ट्र मन्त्रालय र संघीय संसद्बाट पनि अनुमति लिएका थिएनन् । स्थानीय युवा शिव बञ्जाडेले भनेका छन–‘नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन्, सिमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैँ कार्यक्रममा जान कूटनीतिक मर्यादासम्म नजान्ने केको सांसद ?’
सांसद अभिषेकप्रताप साहले यस्तो भनेका छन्–‘कसले के प्रचार गरेको छ, मलाई थाहा छैन । म सिद्धार्थनगर जिल्लाको तुलसीपुर क्षेत्रमा रहेको स्कुलमा मूर्ति अनावरण कार्यक्रममा सहभागी भएको हो । मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो, म गएँ । अरू कुरा मलाई थाहा छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्