नेविसंघमा जुर्मुराउँदै नयाँ पुस्ता, को आउला नेतृत्वमा ?
नेविसंघको ११ औँ महाधिवेशनले आउँदो महाधिवेशनबाट ३२ बर्षे उमेरहद लागु गर्ने भनि पारीत गरेको विधानलाई माउ पार्टी नेपाली कांग्रेसले केही नेताहरुको नोट अफ डिसेन्टका बापजुत पनि स्वीकृत गरिदिएपछी नेविसंघको नयाँ पुस्तामा उत्साह थपिएको छ ।
विद्यार्थी राजनितिमा उमेर हद लाग्ने निर्णयसँगै काँग्रेसको नर्सरी मानिने नेविसंघभित्र नयाँ तरङ्ग सिर्जना छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहमा विभाजित पार्टीको भातृ संगठन पनि तीन समूहमा बाँडिएको छ ।
उमेर हद लागू हुने भएपछि सबै समूहमा ३२ वर्ष पुरा नभएका नेविसंघ हाँक्ने कमाण्डरहरुको खोजी हुन थालेको छ । नयाँ पुस्ताले नेविसंघलाई सहज रुपमा ड्राईभ गर्न सक्लान ? रातोपाटी अनलाइनका पत्रकार फणिन्द्र नेपालको जिज्ञासामा संघका पूर्व अध्यक्ष प्रदीप पौडेल भन्छन्–‘३२ बर्ष उमेर पुरा नभएकाहरुले नेविसंघको नेतृत्व गर्न नसक्ने हैन, तर परम्परा कस्तो छ भने जसले लामो समय नेतृत्व गरे अनुभव बटुले तिनीहरु सबै बुझेको अवस्थामा थिए । उनीहरु नेतृत्वमा आउन नपाउँदै आउट भएका छन ।’
नेविसंघमा उमेर हद लागू गर्ने निर्णयका कारण काँग्रेसको केन्द्रीय समिती बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । अर्कोतिर विश्वविद्यालय, क्याम्पस र चिया चौतारोमा समेत अब नेविसंघ कमाण्ड कसले सम्हाल्छ भन्ने चर्चा चल्न थालेको छ ।
उमेर हद लागू नभएको अवस्थामा नेविसंघका महामन्त्री कुन्दन काफ्ले लगायत आधा दर्जन विद्यार्थी नेताहरु अध्यक्षका दाबेदार थिए । तर, उमेरहदका कारण नेविसंघको अध्यक्ष बन्ने उनीहरुको सपना साकार हुन पाएन, प्रभावशाली विद्यार्थी नेता मानिले काफ्ले लगायतकोे भूमिका अबको विद्यार्थी अधिवेशनमा निर्णायक हुने जानकारहरु बताउँछन ।
नेविसंघको विधान अनुसार नयाँ अधिवेशन कार्तिक १६ देखि २० गतेसम्म गरिसक्नुपेर्नछ । काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिने हालका सह–महामन्त्री प्रकाश घिमिरे यस समुहका बलिया उम्मेद्वार मानिन्छन । सभापति निकट मानिने अम्बिका चलाउनेलाई पनि अबको नेविसंघको नेतृत्वमा आउने बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।
तर, उनी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर भएकाले उक्त समूहले उनलाई अगाडी बढाउने सम्भावना देखिँदैन । देउवा पक्षधरकै नेविसंघका सह–महामन्त्री प्रेम जोशी र पवन यादव अवको नेविसंघ ड्राइभ गर्ने बलियो उम्मेद्वार मानिन्छन ।
काँग्रेस नेता कृष्ण सिटौला समुहबाट सुशील भट्ट, हरि आचार्य र सिजर भट्ट नेविसंघको नेतृत्वका लागि प्रवल दाबेदार हुन् । वर्तमान केन्द्रीय कार्यसमिति सदस्य भट्ट नेविसंघ भित्र लोकप्रिय मानिन्छन । नेविसंघभित्र कुशल संगठनकर्ता मानिने भट्टले विद्यार्थीहरुको बीचमा आफ्नो बलियो उपस्थिती देखाएका छन् । भट्टलाई सिटौला समूहको अलावा पूर्व महामन्त्री प्रकाशमानसिंह , अर्जुननरसिंह केसी लगायतको समेत साथ रहेको बुझिएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालय समितिको नेतृत्व सम्हालिरहेका हरि आचार्य पनि दाबेदार मानिन्छन् । समाजशास्त्रमा एमफिल गर्दै गरेका आचार्य लामो समयदेखि विद्यार्थी राजनितिमा क्रियाशिल छन । अमृत साईन्स क्याम्पसबाट नेविसंघको राजनीति बलियो बनाएका सिजर विद्यार्थीहरुबिच परिचित मानिन्छन ।
बर्तमान नेविसंघको केन्द्रीय समितीमा रहेका सागर परियार सहित करिब १ दर्जन विद्यार्थी नेतामध्येबाट अबको नेविसंघको कमाण्डर चुनिने विद्यार्थीहरुबीच चर्चा चल्न थालेको छ । यसो त विद्यार्थी नेता निरञ्जन थापा पनि अध्यक्षको दाबेदार मानिन्छन । जिपि कोइराला अध्ययन केन्द्रको महासचिव भएर विभिन्न बैचारिक बहस चलाउँदै आएका थापा गत महाधिवेशनमा भने थोरै मनान्तरले सह–महामन्त्रीमा पराजित भएका थिए ।
अघिल्लो पटकको निर्वाचनमा सह–महामन्त्रीमा पराजित डोजाङ शेर्पा, नवराज त्रिपाठी र गणेश सापकोटालाई पनि सम्भावित उम्मेद्वारको रुपमा हेरिएको छ । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनेर चिनिएका बर्तमान कोषाध्यक्ष रहेका शिव रिमाल र सागर परियार अबको नेविसंघको नेतृत्वमा आउन सक्ने बलिया प्रतिस्पर्धी हुन् भने केन्द्रिय सदस्य पुनम लामा पनि नेतृत्वको लागि चर्चामा रहेको नाम हो ।
उमेरहदका कारण नेविसंघको राजनितिबाट बिदा भएकाको के होला ?
नेविसंघमा ३२ बर्षे हदम्याद लगाउने निर्णय भएसँगै काँग्रेसमा राजनीतिक विवाद झन बढेको छ । जसको समाधान खोज्न नेताहरुले तत्काल सक्रियता देखाएको पाइँदैन ।
लामो समयदेखि नेविसंघमा राजनीति गरेका झण्डै एक दर्जन नेताहरु नेविसंघबाट बाहिरिने भएपछि उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने काँग्रेसमा औपचारिक बहस नभए पनि नेताहरुका लागि ठुलो टाउको दुखाइको विषय बनेको छ ।
३२ वर्षे उमेरहद लाग्ने भएपछि पार्टीमा समेत उमेर हद तोक्नुपर्ने भन्दै नेविसंघका नेताहरुले देशव्यापी अभियान नै चलाउने तयारी गरेका छन् । जसले गर्दा काँग्रेस नेताहरु समेत राजनीतिबाट हात धुनुपर्ने अवस्थामा पुग्नेछन् ।
नेविसंघका महामन्त्री कुन्दन काफ्ले भन्छन–‘विद्यार्थीमा ३२ वर्षे लागु भए पार्टीमा ६० बर्षे हद म्याद तोक्नुपर्छ ।’ त्यस्तै पौडेल पक्षधर विद्यार्थी नेता मोति भण्डारी पनि नेताहरुलाई उमेर हद लगाउनु पर्ने पक्षमा छन् ।
नेताहरुको नोटअफ डिसेन्ट प्रकरणले काँग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ । नेविसंघ विवाद तत्काल साम्य हुने सम्भावना कम भएकाले आगामि कार्तिकमा हुने भनिएको अधिवेसन टर्दै गएको छ । यद्यपी घोषणा नै भने भैसकेको छैन ।
तर, यहि अवस्थामा अधिवेसन हुँदैन भन्नेमा पार्टी नेता नै विश्वस्त छन । तर मुख भने खोल्न सकेका छैनन् । यसो हुँदा वर्तमान कार्यसमिति विघटन गर्दै तदर्थ समितिमार्फत विद्यार्थी संगठन चलाउने सभापति देउवाको चाहानाअनुसार नै गतिविधि बढेका छन ।
दशँैतिहार लगत्तै काँग्रेस महासमति बैठक डाकिएको छ । त्यसपछि पार्टीको नै महाधिवेसनमा नेताहरु लाग्नुपर्ने भएपछि अन्ततः नेविसंघको अधिवेसन पार्टीको महाधिवेसनपछि मात्रै हुने लगभग निश्चित छ ।
(पत्रकार फणिन्द्र नेपालले लेखेको यो सामाग्री हामीले रातोपाटी अनलाईनबाट साभार गरेका हौँ ।)
फेसबुकबाट कमेन्ट गर्नुहोस्