सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिमपहिरोमा ज्यान गुमाएका ९ को उद्दारमा कठिनाई

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकको शव देखिए पनि ती शव उठाउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दक्ष जनशक्ति र उपकरणको अभावमा शव ल्याउन नसकिएको जनाएको छ ।

गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिएका छन । हेलिकोप्टरबाट बिहान हेर्दा ८ वटा शव देखिए पनि स्थानीय बासिन्दा घटनास्थलमै पुगेर हेर्दा ७ वटा मात्रै भेटिएको उनले बताएका छन ।

प्रहरीका अनुसार खोंच र अप्ठेरो भीरमा रहेकाले उपकरणबिना शव उठाउन कठिन भएको छ । देखिएका शवमध्ये ४ वटा कोरियन र २ वटा नेपालीको भएको र एउटा चिन्न नसकिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन ।

सिम्रिक एयरको हेलिकोप्टर शनिबार पोखरा आएर बसेको हुँदा आइतबार बिहान मात्रै बेपत्ता शव उठाउन सकिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिएका छन । बेपत्ता भएकाहरुको खोजी गर्न गुर्जा गाउँबाट १६ जना स्थानीय घटनास्थल पुगेका थिए ।

गुर्जा गाउँदेखि घटनास्थल गुर्जा हिमालको आधार शिविर पुग्न ५ घन्टा लाग्ने वडाध्यक्ष छन्त्यालले जानकारी दिएका छन । उनले दिएको जानकारीअनुसार शव क्षतविक्षत देखिएको छ भने हिमआँधीका कारण टेन्ट पनि यत्रतत्र छरिएको छ । ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो ।

हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर घटनास्थल पुगे पनि अवतरण हुन नसकेपछि फर्किएको थियो । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्