सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

साइकल सेलिब्रेटीः ‘बिहे भन्दा पहिले नो सेक्स’

अशोक यादव, कुनै सेलिब्रिटी होइनन् । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स बिफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।

आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे । यद्यपि, अहिलेसम्म अविवाहित छन् । आफूले अहिलेसम्म सेक्सको अनुभव नलिएको दावी गर्ने उनी अरुलाई पनि बिहेपछि मात्रै शारीरिक सम्वन्ध राख्ने सन्देश बाँडिरहेका छन् ।

सप्तरीको तिलाठी, कोइलाडी गाउँपालिका १, तिलाठी निवासी अशोक भन्छन, ‘विवाहपूर्व सेक्स गर्नु न त धर्मको नीति हो, न त समाज वा कानुनकै । अहिले विवाहपूर्व नै यौन सम्पर्क राख्ने क्रम बढेकै कारण यौनिक हिंसाले उग्र रुप लिएको हो ।’

देशमा बलात्कारका घटना पनि विवाहपूर्व यौन सम्पर्क राख्ने प्रवृत्तिले नै बढाएको उनको बुझाई छ । उनी भन्छन्–‘यदि बिवाह गरेपछि मात्र यौन सम्पर्क गर्ने संस्कार कायम गर्ने हो भने बलात्कार स्वतः घट्छ ।’

यौन सम्पर्क आफैंमा पवित्र कार्य भए पनि विवाहपूर्व भने यो अपवित्र हुने यादवले बताए । यो सन्देश सप्तरी जिल्लामा व्यापक फैलाउने उनको योजना छ । भविष्यमा जिल्ला बाहिर पनि जाने उनको योजना छ ।

यो उमेरसम्म यौन सम्पर्कको अनुभव नलिँदा आफूलाई कुनै गाह्रो नपरेको पनि यादवले बताएका छन् । उनले भने–‘पूरा कन्ट्रोलमा बसेको छु, अहिलेसम्म यसको आवश्यकता महसुस नै भएको छैन ।’

उनलाई दक्षिण भारतीय कलाकार खुश्बुले विवाहपूर्वको यौन सम्पर्कलाई मान्यता दिन केही वर्षअघि सरकारसँग गरेको अपील फेल भएको स्मरण छ । उनी भन्छन–‘यदि यो कुरा राम्रो हो भने त त्यहाँको सरकारले मान्यता दिन सक्थ्यो नि, तर दिएन ।’

गाउँमा कृषि पेशा अंगाल्दै आएका यादव कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले निकै चिन्तित बनेका छन् । यो घटनापछि उनले किताब र पत्र–पत्रिका पढ्ने बानीको विकास गरेका छन् ।

उनी भन्छन्–‘अहिले दैनिक रुपमा तिलाठीबाट राजविराज आएर किताव पढ्ने नै काम गर्छु । दिनभर साझा प्रकाशनमा बसेर नेपाली, मैथिलीको कला, संस्कृतिका कितावहरु पढेर दिन बिताइरहेको छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS