नेपाललाई हवाई रुट दिने सहमतिबाट पछी हट्यो भारत
नेपाल र भारतबिच पटक पटक भएको वार्तापछी भारत नेपाललाई थप ४ ओटा हवाई रुट दिन सहमत भएको थियो । भारतको सहमतीपछी नेपालले सोही अनुसार हवाई उडान व्यवस्थापनको तालिका बनाउने तयारीमा थियो । तर भारत अन्तिम समयमा आएर नेपाललाई थप चार हवाई रुट दिने निर्णयबाट पछि हटेको छ ।
नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्र्तराष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । नेपालले नेपालगञ्ज, धनगढी, भैरहवा, विराटनगर, र जनकपुरबाट पनि रुट मागेको छ ।
थप नयाँ हवाई रुट दिने विषयमा नागरिक उड्यन प्राधिकरण र भारतीय एयरपोर्ट प्राधिकरण (एएआई) असोज २ मा काठमाडौंमा हस्ताक्षर भएको थियो । यो सहमतिलाई अन्तिम रुप दिन नागरिक उड्डयन प्राधिकरणका प्राविधिक निर्देशक दीपक बरालको नेतृत्वमा ५ सदस्यीय टोली दिल्ली गएको थियो ।
तर, भारतीय पक्ष सहमतिबाट पछि हट्दै तटस्थ बसेको प्राधिकरणका निर्देशक संजिव गौतमले बताएका छन् । भारतीय प्राविधिक टोलीले नयाँ दिने भनिएका रुटमा सैनिक क्याम्प परेको र त्यसैमा ‘सैन्य सुरक्षा’को कारण देखाउँदै निर्णय गर्न नसकिने भनेको महानिर्देशक गौतले बताएका छन् ।
निर्देशक गौतमले भने–‘प्राविधक टोली यसै फर्किएको छ, अब यो प्रक्रिया मन्त्रालय वा माथिल्लो तहबाहेक प्राविधिक टोलीबाट सम्भव देखिँदैन ।’ काठमाडौंमा भएको छलफल अनुसार दुवै देशका प्राविधिक टोलीमार्फत आउँदो सेम्टेम्बरमा उडान सुरक्षा मूल्याकंन टुंगो लगाउने भनिएको थियो ।
यसअघि सन् २०१० र २०१६ मा पनि यस किसिमको छलफल भएको थियो तर, त्यसअघिका छलफलहरु पनि टुंगोमा पुग्न सकेका थिएनन् । सुरक्षाको कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन अस्वीकार गर्दै आएको छ ।
भारतले बिभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अप्ठ्यारो पर्ने बताउँदै आएको छ । सरकारले भने आगामी आर्थिक वर्ष २०७५/७६ मा बिराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढी विमानस्थललाई क्षेत्रीय अन्र्तराष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्र्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।
नेपालमा अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथामाथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग नेपालको आग्रह छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्