सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैं मनाउन आउँदा २९ बर्षपछी पक्राउ परे हत्यारा

भिआईपी खालका अपराधमा आलोचना खेपीरहेको भए पनि अनुसन्धानका मामलामा भने नेपाल प्रहरी प्रशंसा गर्न योग्य छ । अपराधको यस्तै एउटा घटनामा प्रहरीले एकजना हत्याका आरोपिलाई २९ बर्षपछी पक्राउ गरेको छ । त्यो पनि दशैं मनाउन घर आएको बेला ।

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका खोटाङका एक अभियुक्तलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की छन् ।

जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो ।

घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका वेला खोटाङ सदरमुकाम खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताएका छन ।

पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेश गर्ने गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए ।

उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेल लगायत चार जनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसला अनुसार कैंद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एक जना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अँझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्