सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाल र भारत जुम्ल्याहा भाई हुन्ः सिताराम यचुरी

पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा भाग लिन नेपाल आएका भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले नेपाल र भारतबीचको सम्बन्धमा कसैले पनि म ठूलो दाइ हुँ भन्ने मानसिकता राख्न नहुने बताएका छन् ।

प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भनेका छन्–‘हामी भाइ–भाइ पक्कै हौं, तर भारत दाइ र नेपाल भाइ भन्ने मान्यता गलत हो ।’ भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवबारे प्रवचन दिँदै नेता यचुरीले दुई देशबीच सह–अस्तित्वको सम्बन्ध रहेको भन्दै यसलाई अँझै मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध जुम्ल्याहा दाजुभाइको जस्तो भएको उल्लेख गरेका छन् । यचुरीले भने–‘जुम्ल्याहा भएपछि एउटालाई दुख्दा अर्कोलाई पनि दुख्नुपर्छ र एउटा खुशी हुँदा अर्को भाइ पनि रमाउन सक्नुपर्छ ।’

नेता यचुरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सोभियत संघ पतनको कारण बुझ्न सुझाएका छन् । सही समयमा सही निर्णय गर्न नसक्दा सोभियत संघ पुरै पतन भएको उल्लेख गर्दै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न सत्तारुढ नेकपाका नेतालाई सुझाव दिएका हुन् ।

उनले भनेका छन्–‘सोभियत संघ माक्र्सवादी बिचारधारामार्फत समाजवादी उद्देश्यमा अघि बढ्दै थियो । तर, पुरै कोल्याप्स हुन पुग्यो । त्यसबेला माक्र्सवादको समाजवादी सिद्धान्त लागू गर्नमा अथवा समाजवाद निर्माण गर्न खोज्दा जुन गल्ति भएको थियो त्यसले सोभियत संघ पतन हुन पुग्यो ।’

यचुरीले आफ्नो जमिन बर्लिन जर्मनीलाई किन दिने भन्दा सोभियत संघ विघटन हुन पुगेको इतिहास सुनाएका थिए । दोस्रो विश्व युद्धपछि जर्मनी कम्युनिस्ट र प्रजातान्त्रिक जर्मनी गरेर दुई भागमा विभाजित हुँदा बर्लिन सहर पनि दुई भाग भएको थियो र पूर्वबाट पश्चिम बर्लिन जाने जनतालाई छेक्न खोज्दा जर्मनीको कम्युनिस्ट शासन पतन भएको यचुरीले उल्लेख गरेका छन् ।

सोभियत संघ विघटन हुनुमा सही समयमा सही विश्लेषण हुन नसकेको प्रसंग पटक–पटक उल्लेख गर्दै महासचिव यचुरीले नेपाललाई पनि प्राप्त राजनीतिक अधिकारलाई आर्थिक अधिकारमा रुपान्तरण गर्नेतर्फ लाग्न सुझाएका हुन् ।

हरेक देशको क्रान्ति संबन्धित देशको तत्कालिन परिस्थितिलाई हेरेर र मुल्याङ्कन गरेर भएको इतिहास रहेको भन्दै उनले नेपालमा अहिले रहेको बहुमत प्राप्त कम्युनिस्ट सरकार सफल होस भन्ने आफुहरुको पनि चाहना रहेको बताएका छन् ।

आगामी सन् २०१९ मा हुने चुनावमा भारतमा कम्युनिस्ट पार्टीले देखाइदिने समेत यचुरीले उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले रोजगारी दिन्छु भनेर चुनाव जिते पनि जनताले त्यो प्राप्त गर्न नसकेको र कांग्रेसको हालत खराब भएका कारण आगामी चुनावमा भारतीय कम्युनिस्ट पार्टीले जित हाँसिल गर्ने उनको दावी थियो ।

नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा बिहीबार काठमाडौं आइपुगेका माक्र्सवादी नेता यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका छन् ।

(अनलाइनखबरबाट)

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS