खलाँसीले चलाएको ट्रकले लियो तिन जनाको ज्यान
राजधानी काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन ।
सोही ट्रकको ठक्करबाट उपचारका क्रममा अस्पतालमा मृत्यु भएका तिलकुमारीका नाति तीन वर्षीय आजित तिवारी, नुवाकोट ककनीकी ६० वर्षीया सावित्री पुडासैनीको शव पनि आफन्तले बुझेका छैनन् ।
घटना स्थलमै मृत्यु भएकी तिलकुमारीको शव घटना स्थलमै प्लास्टिकले छोपेर राखिएको छ । ट्रकको ठक्करले टाउकोबाट उछिट्टिएको गिदी, रगत सडकमै असरल्ल छन् । नाति आजितको शव भने टोखास्थित ग्रिनसिटी अस्पतालमा राखिएको छ ।
अर्का मृतक सावित्रीको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । सडकमा हिँडिरहेका बेला उनीहरूलाई शुक्रबार बिहान १०ः२० बजे ना६ख ७८२६ नम्वरको १० चक्के ट्रकले ठक्कर दिएको थियो । प्रहरीले ट्रक चालकलाई भने अँझै पक्राउ गर्न सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले शुक्रबार बिहान भएको ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएको र त्यसमध्ये घटनास्थलमै मृत्यु भएकी तिलकुमारीको शव उठ्न नसकेको बताएका छन् ।
परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले ट्रकका चालक पक्राउ नपरेको र ट्रकका मालिक सम्पर्कमा नआएकाले स्थानीयले मृतकको शव बुझ्न नमानेको बताएका छन् । स्थानीयले ट्रक चालकलाई पक्राउ गर्नुपर्ने र ट्रकका मालिकलाई घटनास्थलमा उपस्थित गराउनुपर्ने माग गरेका छन् ।
प्रहरीका अनुसार ठक्कर दिँदा ट्रक खलासीले चलाइरहेका थिए । सिमेन्ट अनलोड गरेर फर्कने क्रममा ट्रकले तीन पैदलयात्रीलाई ठक्कर दिएको हो । लगत्तै चालक फरार भए । प्रहरीका अनुसार ग्रामीण सडकमा फुटपाथ नहुँदा धेरै दुर्घटना हुने गरेको छ ।
शुक्रबार तिलकुमारी नाती आजित र साथी सावित्रीसँगै पैदलयात्रा गरिरहँदा अनियन्त्रित ट्रकले ठक्कर दिएको थियो । ट्रकले सोहर्दै तिलकुमारीलाई केही पर लगेको थियो । आजित र सावित्रि भने ठक्करबाट उछिटिएर अर्कोतर्फ पुगेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्