सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चितवनलाई हराउँदै पिपिएलको उपाधी पोखराको हातमा

चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधी पोखरा पल्टनले हात पारेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेटाएको थियो । पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरेका थिए । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएका थिए ।

त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेष्वाकरले २२ रन बनाएका थिए । आशिफ शेखले १२ रन बताएका थिए । बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिएका थिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएका थिए । उनले ३७ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाएका थिए ।

त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरेका थिए । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाएका थिए । आरिफ शेख १४ रनमा अविजित रहे । ओपनर अनिल कुमार साहले ३७ रन बनाएर आउट भएका थिए ।

चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार साहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुँदा हरिशंकर साहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १ सय ३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिएका थिए । पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । ९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्